काठमाडौं । प्रमुख निर्माण सामग्रीको मूल्य बढेसँगै निर्माण क्षेत्रको लागत थप महँगिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (माघ, फागुन, चैत) सम्मको निर्माण क्षेत्रको इनपुट मूल्य सूचकांक प्रतिवेदनअनुसार इँटा, सिमेन्ट, डन्डी, विद्युत् तार र गेबियन तारलगायतका सामग्रीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
उच्च भार भएका यी सामग्रीको मूल्य बढेपछि सार्वजनिक पूर्वाधार आयोजना तथा निजी निर्माण दुवैको लागत बढ्ने संकेत देखिएको छ।
प्रतिवेदनअनुसार आन्तरिक आपूर्ति अभाव, निर्माण गतिविधिमा आएको वृद्धि तथा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धिले निर्माण सामग्रीको मूल्यमा दबाब सिर्जना गरेको हो।
समीक्षा अवधिमा इँटाको मूल्य सबैभन्दा धेरै बढेको छ। वार्षिक आधारमा १३.४१ प्रतिशत र त्रैमासिक आधारमा ९.३३ प्रतिशतले बढ्दै इँटाको मूल्य सूचकांक १४७.२ बिन्दुमा पुगेको छ, जुन पछिल्ला पाँच वर्षयताकै उच्च स्तर हो। माघदेखि चैतसम्म निर्माण गतिविधि तीव्र हुनु, उद्योगबाट पर्याप्त आपूर्ति हुन नसक्नु तथा मौसमी माग बढ्नु यसको प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ।
सिमेन्टको मूल्य पनि पुनः उकालो लागेको छ। अघिल्लो त्रैमासको तुलनामा ५.०४ प्रतिशतले बढेर यसको सूचकांक १०५.५ पुगेको छ, जुन पछिल्ला तीन वर्षयताकै उच्च हो। अघिल्ला दुई आर्थिक वर्षमा लगातार घटेको मूल्य निर्माण गतिविधि बढ्नु तथा क्लिंकरको आपूर्ति कडा भएपछि पुनः वृद्धि भएको प्रतिवेदनले जनाएको छ।
स्टिलजन्य सामग्रीतर्फ डन्डी (फलामे छड) र बिलेटको मूल्य त्रैमासिक आधारमा ७.७९ प्रतिशतले बढेर सूचकांक १२५.८ पुगेको छ। अघिल्लो त्रैमासमा बहुवर्षीय न्यून बिन्दुमा पुगेको मूल्यमा सुधार आए पनि वार्षिक आधारमा भने अझै १.८३ प्रतिशतले कम रहेको प्रतिवेदनमा उल्लेख छ।
विद्युत् तारको मूल्य समीक्षा अवधिमा सबैभन्दा तीव्र गतिमा बढेको सामग्रीमध्ये एक हो। वार्षिक आधारमा २४.८९ प्रतिशतले बढेर यसको सूचकांक १७०.२ पुगेको छ। ऊर्जा प्रसारण आयोजनाका लागि विश्वव्यापी माग बढ्नु तथा तामाको अन्तर्राष्ट्रिय मूल्य वृद्धि र आपूर्ति शृंखलामा आएको अवरोधले यसको मूल्य उकालो लागेको कार्यालयले जनाएको छ।
त्यसैगरी गेबियन तारको मूल्य त्रैमासिक आधारमा ८.९४ प्रतिशतले बढेर सूचकांक १५०.० पुगेको छ। सडक निर्माण तथा पहिरो नियन्त्रणका संरचनामा बढ्दो मागका कारण यसको मूल्यमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
यद्यपि सबै निर्माण सामग्रीको मूल्य भने बढेको छैन। काठको मूल्य वार्षिक आधारमा ५.५९ प्रतिशतले घटेर सूचकांक ८६.२ मा झरेको छ। सामुदायिक वनमार्फत आपूर्ति सहज हुनु तथा घरजग्गा कारोबार सुस्त हुँदा माग घटेकाले मूल्यमा कमी आएको प्रतिवेदनले जनाएको छ।
ह्युम पाइपको मूल्य पनि वार्षिक आधारमा १०.०१ प्रतिशतले घटेको छ। यद्यपि यसको सूचकांकमा भार कम रहे पनि ढल तथा कल्भर्ट निर्माणका आयोजनाहरू अपेक्षाकृत सुस्त रहेकाले माग कमजोर भएको संकेत प्रतिवेदनले गरेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार निर्माण लागतमा सबैभन्दा ठूलो प्रभाव पार्ने सिमेन्ट, इँटा र स्टिलजन्य सामग्रीको मूल्य बढेकाले सार्वजनिक पूर्वाधार आयोजना, सडक, भवन तथा निजी आवास निर्माणको लागत बढ्ने सम्भावना रहेको छ। यसले निर्माण व्यवसायी, ठेकेदार तथा घर निर्माण गर्ने उपभोक्तामाथि थप आर्थिक भार पर्ने विश्लेषण प्रतिवेदनमा गरिएको छ।
प्रतिक्रिया दिनुहोस