काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनासम्म साढे ६४ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले ११ महिनासम्ममा ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका हुन्।
अघिल्लो वर्ष २०८१/८२ को जेठसम्म वाणिज्य बैंकहरूले ५३ अर्ब ९७ करोड कमाएका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरूको नाफा करिब २० प्रतिशतले बढेको छ।
यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म १५ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ५ वटाको घटेको छ।
समीक्षा अवधिसम्म नबिल बैंकले ८ अर्ब ४१ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ६ अर्ब ४० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा ३२.५२ प्रतिशतले बढेको हो।
नाफा कमाउने दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ५ अर्ब ७७ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ६ अर्ब ३ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ०.९६ प्रतिशतले घटेको छ।
तेस्रो धेरै नाफा कमाउनेमा कुमारी बैंक रहेको छ। बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ७० करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २ अर्ब ३७ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ११९.४५ प्रतिशतले बढेको छ। वाणिज्य बैंकहरूमध्ये यो वृद्धिदर सर्वाधिक हो।
त्यसैगरी समीक्षा अवधिसम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४७ करोड ११ लाख रुपैयाँ र एभरेष्ट बैंकले ४ अर्ब १२ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ र एभरेष्टले ४ अर्ब २४ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा २१.०५ प्रतिशत र एभरेष्टको २.८७ प्रतिशतले घटेको छ।
उक्त अवधिमा सबैभन्दा कम नाफा एनआईसी एशिया बैंकले ५० करोड ७७ लाख रुपैयाँ कमाएको छ।
प्रतिक्रिया दिनुहोस