काठमाडौं । मधेश प्रदेशका पुर्व प्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी मुद्दामा काठमाडौ जिल्ला अदालतले दोषी ठहर गरेको छ ।
जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले झालाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिमको कसुरमा दोषी ठहर गरेको हो।
परिवर्तित नाम ‘२६ परिसर (३२) ०८१ / ०८२’ को जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा अदालतले कसुर ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्ने आदेश दिएको छ।
अदालतको आदेशअनुसार फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ८ र ९ बमोजिम सजाय निर्धारणका लागि २०८३ असार ३२ गते पेशी तोकिएको छ। सो पेशीबारे जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र प्रतिवादीलाई जानकारी दिन अदालतले आदेश दिएको छ।
त्यस्तै, ऐनको दफा १२ बमोजिम सजायपूर्वको प्रतिवेदनसमेत पेश गर्न अदालतले आदेश दिएको छ ।अब छुट्टै सुनुवाइपछि अहिराजलाई हुने सजाय निर्धारण गरिने जिल्ला अदालतका सुचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस