सोमवार , श्रावण ४, २०८३
Shares
Shares
नेपालको आर्थिक इतिहास लेख्ने हो भने एउटा रोचक तथ्य छुटाउन मिल्दैन । इतिहास भन्छ– नेपालमा निजी क्षेत्रको संगठित यात्रा काठमाडौंबाट होइन, विराटनगरबाट सुरु भएको हो । आज उद्योग, व्यापार र लगानीका अधिकांश निर्णय राजधानीमा केन्द्रित देखिए पनि सात दशकअघि नेपालको औद्योगिकीकरणको पहिलो अध्याय भने पूर्वी नेपालको एउटा उदीयमान सहर विराटनगरमा लेखिएको थियो । त्यही अध्यायको केन्द्रमा थियो– मोरङ उद्योग व्यापार संघ ।
वि.सं. २००७ मा स्थापना भएको मोरङ उद्योग व्यापार संघ नेपालकै पहिलो व्यापारिक संस्था हो । त्यसबेला देश राणाशासनको अन्त्यसँगै नयाँ राजनीतिक युगमा प्रवेश गरिरहेको थियो । आर्थिक गतिविधि विस्तार हुँदै गए पनि उद्योगी–व्यापारीका साझा आवाज उठाउने कुनै संस्थागत मञ्च थिएन ।
विराटनगरमा जुट उद्योग, धान–चामल प्रशोधन उद्योग र सीमापार व्यापार विस्तार हुन थालेपछि व्यवसायीहरूले महसुस गरे—व्यक्तिगत रूपमा व्यापार गर्न सकिए पनि उद्योग र व्यापारको भविष्य संस्थागत एकतामै निर्भर हुन्छ । यही सोचबाट जन्मिएको मोरङ मर्चेन्ट एसोसिएसन नै पछि मोरङ उद्योग व्यापार संघका रूपमा स्थापित भयो ।
नेपाल उद्योग वाणिज्य महासंघको स्थापना हुनुअघि नै जन्मिएको यो संस्था आज ७५ वर्ष पार गरेर पनि निजी क्षेत्रको इतिहासको अग्रणि स्थानमा उभिएको छ ।
विराटनगरमा आफ्नै भव्य भवनबाट सञ्चालन हुँदै आएको मोरङ उद्योग व्यापार संघले सात दशकभन्दा लामो यात्रामा २५ जना अध्यक्ष पाइसकेको छ। अहिले २६औँ अध्यक्षका रूपमा अनुपम राठी नेतृत्व सम्हालिरहेका छन् र आफ्नो कार्यकालको उत्तरार्धमा छन्।

तर संघको इतिहासको पाना पल्टाउँदा एउटा असाधारण तथ्य उजागर हुन्छ—यस संस्थाको नेतृत्व एउटै परिवारका तीन पुस्ताले गरेको दुर्लभ विरासत। आकाशकरण राठी, नन्दकिशोर राठी र अहिले अनुपम राठी; तीन पुस्ताले एउटै संस्थाको नेतृत्व गर्दै नेपाली निजी क्षेत्रको इतिहासमा एउटा विशिष्ट अध्याय लेखेका छन्।
नेपालका धेरै संस्थाले नेतृत्व परिवर्तन देखेका छन्, तर एउटै परिवारका तीन पुस्ताले सात दशकभन्दा पुरानो संस्थाको नेतृत्व गर्ने अवसर पाएको उदाहरण अत्यन्त दुर्लभ छ । मोरङ उद्योग व्यापार संघमा त्यो इतिहास राठी परिवारले रचेको छ । यो यात्राको सुरुवात आकाशकरण राठीबाट भयो । उनले वि.सं. २०३८ मा संघको नेतृत्व सम्हाले ।
त्यसपछि दोस्रो पुस्ताका रूपमा नन्दकिशोर राठी अध्यक्ष बने । अहिले २०८१ सालदेखि अनुपम राठी संघको नेतृत्व गरिरहेका छन् । करिब चार दशकको अन्तरालमा एउटै परिवारका तीन पुस्ताले अध्यक्षको जिम्मेवारी सम्हाल्नु केवल संयोग होइन, संस्थाले उनीहरूमाथि गरेको विश्वास र उनीहरूले संस्थाप्रति देखाएको निरन्तर प्रतिबद्धताको प्रतीक पनि हो ।
संघका वर्तमान अध्यक्ष अनुपम राठी आफ्ना हजुरबुवा र बुवाको पदचिह्न पछ्याउँदै अध्यक्ष बनेका हुन् । उनी यसलाई व्यक्तिगत उपलब्धिभन्दा संस्थागत उत्तरदायित्वका रूपमा व्याख्या गर्छन् । ‘मेरो हजुरबुवा, त्यसपछि बुवा र अहिले म—तीन पुस्ताले एउटै संस्थाको नेतृत्व गर्ने अवसर पाएका छौं । यो हाम्रो परिवारका लागि गौरवको विषय मात्र होइन, संस्थाले नेतृत्वको निरन्तरता र विश्वासलाई कसरी जोगाएको छ भन्ने प्रमाण पनि हो,’ उनी भन्छन् ।

अनुपम राठीको भनाइमा मोरङ उद्योग व्यापार संघको इतिहास वास्तवमा नेपालको औद्योगिकीकरणकै इतिहास हो । उनका अनुसार आज विराटनगर औद्योगिक सहरका रूपमा चिनिनु कुनै संयोग होइन । एक समय घना जंगल, मलेरियाको महामारी र सीमित बसोबास भएको यो क्षेत्रमा व्यापारको सम्भावना देखेर व्यापारीहरू आए । धान र जुटको व्यापार विस्तार भयो । त्यसपछि विराटनगर जुट मिल, रघुपति जुट मिल, मोरङ राइस मिल, गुजेश्वरी राइस मिलजस्ता उद्योग स्थापना भए । यही क्षेत्रबाट नेपालमा आधुनिक औद्योगिकीकरणको जग बस्यो । उनका शब्दमा, ‘नेपालको व्यवसायिक र औद्योगिक यात्रा विराटनगरबाट संगठित रूपमा सुरु भएको हो । मोरङ उद्योग व्यापार संघले त्यस यात्रामा नेतृत्वदायी भूमिका खेलेको इतिहास छ ।’
राठी परिवारको आफ्नै व्यापारिक इतिहास पनि मोरङ उद्योग व्यापार संघभन्दा कम रोचक छैन । करिब १२० वर्षअघि हाटबजारमा खाद्यान्न र कपडाको व्यापारबाट सुरु भएको यात्रा समयसँगै सुनचाँदी व्यवसाय, राइस मिल, जुट उद्योग, सोल्भेन्ट उद्योग, सिमेन्ट, प्लास्टिक, कार्पेट हुँदै आज उत्पादनमूलक उद्योगसम्म विस्तार भएको छ । अहिले समूहअन्तर्गत १८ भन्दा बढी उत्पादन उद्योग सञ्चालनमा छन् भने ऊर्जा, पर्यटन, सेवा क्षेत्र र पूर्वाधारमा नयाँ लगानीको तयारी भइरहेको छ ।

अनुपम राठीका अनुसार हरेक पुस्ताले समयअनुसार आफ्नो सोच र व्यवसाय परिवर्तन गर्न सकेकाले नै समूह आजको अवस्थामा पुगेको हो । ‘बजार परिवर्तन हुन्छ, प्रविधि परिवर्तन हुन्छ, उपभोक्ताको आवश्यकता परिवर्तन हुन्छ । व्यवसाय पनि समयसँगै परिवर्तन हुनुपर्छ । परिवर्तन स्वीकार गर्न नसक्ने व्यवसाय टिक्न सक्दैन,’ उनी भन्छन् । यद्यपि, उनी अहिले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण मोडमा रहेको स्वीकार गर्छन् । लगानीको वातावरण अपेक्षित रूपमा उत्साहजनक नभएको उनको बुझाइ छ । सरकारले स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रसँग विश्वासमा आधारित सहकार्य गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
‘सरकारले लगानीकर्ता खोज्नुपर्दैन । राम्रो नीति ल्याउन सक्यिो भने लगानीकर्ता आफैं आउँछन् । नेपालमा सम्भावनाको कमी छैन, आवश्यक छ त केबल विश्वास र स्थिर नीति,’ उनको भनाइ छ । उनका अनुसार अब नेपालको भविष्य परम्परागत उद्योगमा मात्र सीमित छैन । पर्यटन, ऊर्जा, हस्पिटालिटी, डिजिटल सेवा र सीमापार बजारलाई केन्द्रमा राखेर नयाँ आर्थिक रणनीति बनाउनुपर्ने समय आएको छ । विशेषगरी भारतसँग जोडिएको विशाल उपभोक्ता बजारलाई लक्षित गर्दै नेपालले आफ्ना प्राकृतिक स्रोत, पर्यटन र सेवा क्षेत्रलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उनी बताउँछन् ।

मोरङ उद्योग व्यापार संघ अहिले ७५ वर्षको यात्रामा प्रवेश गरिरहेको छ । यही अवसरमा संघले आफ्नो सम्पूर्ण इतिहास समेटिएको कफी–टेबल पुस्तक प्रकाशन गर्ने तयारी पनि गरेको छ, जसमा विराटनगरको औद्योगिक विकासदेखि संघका सबै अध्यक्ष र उनीहरूको योगदानसम्मको अभिलेख रहनेछ ।
सात दशकअघि केही उद्योगी–व्यापारीले विराटनगरमा रोपेको एउटा संस्थागत बीउ आज नेपालको निजी क्षेत्रको विशाल वृक्ष बनेको छ । सरकार फेरिए, व्यवस्था फेरियो, अर्थतन्त्रले उतारचढाव देख्यो, उद्योगका स्वरूप बदलिए, तर मोरङ उद्योग व्यापार संघले आफ्नो मूल उद्देश्य—उद्योगी र व्यवसायीको साझा आवाज बन्ने जिम्मेवारी—त्यागेन ।

त्यसैले मोरङ उद्योग व्यापार संघको इतिहास केवल एउटा संस्थाको इतिहास होइन; यो नेपालको निजी क्षेत्रको विकास, औद्योगिकीकरणको सुरुवात र संस्थागत नेतृत्वको निरन्तरताको जीवित दस्तावेज हो र त्यस दस्तावेजमा राठी परिवारका तीन पुस्ताले लेखेको नेतृत्वको अध्याय नेपाली व्यवसायिक इतिहासको सबैभन्दा विशिष्ट विरासतका रूपमा दर्ज भइरहनेछ ।
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस