काठमाडौं । गोंगबुस्थित मित्रनगरको माउन्टेन एक्सेल्सिभा होटलमा युवतीको शव फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन ३ गते बिहान करिब ११ बजे काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित होटलको चौथो तलाको ४०४ नम्बर कोठामा रहेको काठको पलङको बक्सभित्र एक महिलाको शव रहेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
घटनापछि गरिएको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट मृतक कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी बस्दै आएकी २५ वर्षीया निशा सुनार रहेको खुलेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ लटाली स्थायी घर भई हाल काठमाडौं–३ चक्रपथस्थित सम्बाला होटल आसपास बस्ने २७ वर्षीय रमेश बुढा र जुम्लाको चन्दननाथ नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौं बस्ने ३८ वर्षीय दानबहादुर शाहीलाई पक्राउ गरेको छ ।
दुवैलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रतिक्रिया दिनुहोस