काठमाडौं / लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको बौद्धका कपडा व्यवसायी नवीन जिन्दलले आफ्नै घरको चौथो तलाबाट हामफालेर आत्महत्या गरेका छन् । पछिल्लो समय आर्थिक तनावमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सोमबार बेलुकी काठमाडौं महानगरपालिका–७, चुच्चेपाटीस्थित भाटभटेनी सुपरस्टोर पछाडि रहेको आफ्नै घरको बार्दलीबाट जिन्दलले हामफालेका थिए ।
गम्भीर अवस्थामा उनलाई तत्काल उपचारका लागि बौद्धस्थित स्तुपा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटनापछि गरिएको अनुसन्धानका क्रममा उनको कोठाबाट विषादी पनि फेला परेको छ। प्रारम्भिक अनुमानअनुसार उनले विष सेवन गरेपछि घरको चौथो तलाबाट हामफालेको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाको यथार्थ कारणबारे थप अनुसन्धान भइरहेको छ । हामी अनुसन्धान गरिरहेका छौ,के कारणले मृत्यु भएको हो,पोष्मार्टमा रिपोर्ट पछि सबै थाहा हुन्छ एसपी भट्टराईले भने ।
जिन्दल भारतबाट कपडा आयात गरी काठमाडौंमा थोक व्यापार गर्दै आएका व्यवसायी थिए। बौद्ध क्षेत्रमा उनको कपडा पसल सञ्चालनमा रहेको थियो।
पारिवारिक स्रोतका अनुसार उनी पछिल्लो समय व्यापारमा आएको मन्दीका कारण आर्थिक तनावमा थिए। साथै उच्च रक्तचाप, मधुमेह र डिप्रेसनको उपचार गराइरहेका उनी लामो समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी औषधि सेवन गर्दै आएका थिए।
प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस