काठमाडौँ । पूर्वअर्थमन्त्री डा. रामशरण महतको भ्रष्टाचारविरुद्धको मुद्दा तत्काल मुल्तबीमा राख्न विशेष अदालतले अस्वीकार गरेको छ ।
विशेष अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दा मुल्तबीमा राख्न अस्वीकार गरेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वअर्थमन्त्री महतको मुद्दा तत्काल मुल्तबीमा राख्न विशेष अदालतले अस्वीकार गरेको हो ।
डा. महतकी पत्नी रोशना महतले आफ्ना पति गम्भीर मानसिक रोग ‘फ्रन्ट टेम्पोरल डिमेन्सिया’ बाट पीडित भई शारीरिक र मानसिक रूपमा अशक्त भएको भन्दै मुद्दा स्थगित गर्न निवेदन दिएकी थिइन् ।
तर विशेष अदालतको डा. महत विशेष अदालतमा उपस्थित भएका बेला उपयुक्त आदेश हुनसक्ने भन्दै मुद्दालाई मुल्तबीमा राख्न अस्वीकार गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबीसहित अर्थमन्त्री महतसहित ५ जना मन्त्रीहरू र १० जना पूर्वसचिवसहित ५५ जना र एक कम्पनीलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस