२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

निर्यातमा नयाँ कीर्तिमान

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा नेपालको वस्तु निर्यातले नयाँ कीर्तिमान कायम गरेको छ । पहिलोपटक निर्यात ३ खर्ब रुपैयाँ नाघेर ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको हो । 

भन्सार विभागले सार्वजनिक गरेको वार्षिक वैदेशिक व्यापार तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपालको वस्तु निर्यात १३.८ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ थियो ।

तर निर्यातमा भएको वृद्धिको ठूलो हिस्सा तीनवटा वस्तुले मात्रै धानेका छन् । रिफाइन्ड सोयाबिन तेल, रिफाइन्ड पाम ओलिन र ठूलो अलैँचीको निर्यातमा भएको वृद्धिबाट ३२ अर्ब ३ करोड रुपैयाँ बराबरको अतिरिक्त आम्दानी थपिएको छ । यो कुल निर्यात वृद्धिको ८३.७ प्रतिशत हो ।

यसले नेपालको निर्यात वृद्धि व्यापक औद्योगिक उत्पादन विस्तारभन्दा सीमित वस्तुमा निर्भर रहेको देखाएको छ ।

रिफाइन्ड सोयाबिन तेल नेपालको सबैभन्दा ठूलो निर्यात वस्तुका रूपमा कायम छ । गत आर्थिक वर्ष यसको निर्यात १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यो कुल वस्तु निर्यातको ४०.८ प्रतिशत हो ।

अन्य खाद्य तेलसमेत जोड्दा जनावर तथा वनस्पतिजन्य बोसो र तेल समूहको निर्यात १ खर्ब ४८ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । कुल निर्यातमा यो समूहको हिस्सा ४७.३ प्रतिशत छ ।

अर्थात् नेपालले वस्तु निर्यातबाट कमाएको प्रत्येक दुई रुपैयाँमध्ये झन्डै एक रुपैयाँ खाद्य तेलबाट आएको छ ।

नेपालको सबैभन्दा ठूलो निर्यात क्षेत्र घरेलु कृषि उत्पादनमा आधारित नभई आयातित कच्चा पदार्थको प्रशोधनमा निर्भर हुनु अर्को पक्ष हो । गत आर्थिक वर्ष नेपालले १ खर्ब ३२ अर्ब ७७ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात गरेको थियो । त्यसलाई प्रशोधन गरेर मुख्यतः भारतीय बजारमा निर्यात गरिएको हो ।

यसले सोयाबिन तेलको निर्यातमा नेपालको मूल्य अभिवृद्धि सीमित रहेको र यो क्षेत्र भारतीय बजार तथा त्यहाँको व्यापार नीतिमा निर्भर रहेको देखाउँछ ।

निर्यात वृद्धिको गतिमा आएको सुस्तताले पनि यही जोखिमतर्फ संकेत गर्छ । आव २०८१/८२ मा खाद्य तेलको निर्यातका कारण नेपालको वस्तु निर्यात ८१.८ प्रतिशतले बढेको थियो । तर गत आर्थिक वर्ष यस्तो वृद्धि १३.८ प्रतिशतमा सीमित भएको छ ।

नेपालको निर्यात बजार पनि झन्झन् भारतकेन्द्रित बन्दै गएको छ । गत आर्थिक वर्ष कुल निर्यातको ८२ प्रतिशत अर्थात् २ खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु भारततर्फ गएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा भारततर्फको निर्यात ३३ अर्ब ९७ करोड रुपैयाँले बढेको छ । यो कुल निर्यात वृद्धिको झन्डै ८९ प्रतिशत हो ।

यसको विपरीत चीनतर्फको निर्यात २८ प्रतिशतले घटेर १ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ । चीनबाट भने नेपालले ४ खर्ब २५ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

फलस्वरूप चीनसँगको व्यापार घाटा ४ खर्ब २३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । नेपालले चीनमा १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा त्यहाँबाट करिब २२५ रुपैयाँ बराबरको वस्तु आयात गरिरहेको देखिन्छ ।

निर्यातले नयाँ कीर्तिमान कायम गरे पनि आयातको उच्च वृद्धिका कारण नेपालको व्यापार घाटा झन् फराकिलो भएको छ ।

गत आर्थिक वर्ष व्यापार घाटा १६.६ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा व्यापार घाटा करिब २ खर्ब ५४ अर्ब रुपैयाँले बढेको हो ।

कुल वस्तु व्यापार १५.९ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

आयात वृद्धिमा खनिज इन्धन, बहुमूल्य धातु, मल तथा विद्युतीय सामग्रीको प्रमुख योगदान छ । खनिज इन्धनको आयात करिब ६० अर्ब रुपैयाँले बढेर ३ खर्ब ८६ अर्ब पुगेको छ । सुन, चाँदी तथा सम्बन्धित वस्तुको आयात ६४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, मलको आयात ६०.३ प्रतिशतले बढेर ५० अर्ब १ करोड र स्मार्टफोनको आयात ३७ प्रतिशतले बढेर ४८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

खाद्य तेलबाहेक केही वस्तुको निर्यातमा भने सुधार देखिएको छ । ठूलो अलैँचीको निर्यात ६४.६ प्रतिशतले बढेर १२ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । यससँगै ठूलो अलैँची रिफाइन्ड सोयाबिन तेलपछि नेपालको दोस्रो ठूलो निर्यात वस्तु बनेको छ ।

जुटजन्य वस्तु, फेल्ट तथा पास्ताको निर्यात पनि बढेको छ । तर परम्परागत निर्यातजन्य वस्तु भने दबाबमा देखिएका छन् ।

फलाम तथा इस्पातजन्य वस्तुको निर्यात ७७.८ प्रतिशतले घटेको छ । यसबाट ११ अर्ब रुपैयाँभन्दा बढीको निर्यात आम्दानी गुमेको छ । चिया, गलैँचा तथा फलफूलको जुसको निर्यातमा पनि गिरावट आएको छ ।

निर्यातले नयाँ उचाइ छोए पनि यसको आधार भने अझै सीमित वस्तु र एउटै बजारमा केन्द्रित छ । कुल निर्यात आम्दानीको झन्डै आधा हिस्सा खाद्य तेलबाट आउनु, वार्षिक निर्यात वृद्धिको ८३.७ प्रतिशत तीनवटा वस्तुले मात्र धान्नु र ८२ प्रतिशत निर्यात भारतीय बजारमा निर्भर हुनु नेपालको निर्यात संरचनाको प्रमुख जोखिम हो ।

यसले अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्यमा हुने उतारचढाव, भारतीय व्यापार नीतिमा आउने परिवर्तन वा सीमित वस्तुसँग सम्बन्धित कुनै अवरोधले नेपालको निर्यातमा ठूलो असर पार्न सक्ने देखाएकाे छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट