२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

उत्तराखण्डमा आएको बाढीमा जाजरकोटका १३ र बर्दियाका ४ जना बेपत्ता, केही घाइते

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मंगलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ र बर्दियाका ४ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ र मधुवन नगरपालिकाका ४ जना बेपत्ता भएका हुन् ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिएका हुन् । उनले भने, ‘बाढीपछि बेपत्ता भएकाहरु हालसम्म सम्पर्कमा आएका छैनन्, उहाँहरुसित सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन् ।’

बेपत्ताको खोजी गरिदिन गाउँपालिकाका अध्यक्ष बस्नेतले परराष्ट्र मन्त्रालयसँग अनुरोध गरे । सोही क्षेत्रमा मजदुरी गर्दै आएका कुशे गाउँपालिकाका अन्य वडाका बासिन्दा पनि सम्पर्कमा नरहेको अध्यक्ष बस्नेतले बताए ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बाढीमा परेर स्थानीय केही व्यक्ति बेपत्ता भएको कुशे गाउँपालिकाले जानकारी दिएको बताए ।

‘जिल्लाका सबै स्थानीय तह र त्यहाँ रहेका प्रहरी चौकीलाई पत्राचार गरेर हर्सिल क्षेत्रमा काम गर्न गएका जाजरकोटबासीको नाम सङ्कलन गर्न निर्देशन दिएको छु । गृहमन्त्रालयमा समेत सोही अनुसारको जानकारी गराएको छु’, उनले भने ।

बर्दियाका ४ जना पनि सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन गुहारेका छन् । बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, आफन्त र त्यहाँ रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको हो ।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउनका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ। विज्ञप्तिमार्फत प्रदेश तथा सङ्घीय सरकारको समेत ध्यानाकर्षण गराइएको छ।

उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्पिल क्षेत्रमा ‘क्लाउड ब्रस्ट’ भई आएको भीषण बाढी तथा पहिरोमा परी ठूलो मानवीय र भौतिक क्षति भएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट