काठमार्डौँ । विशाल ग्रुपले प्रर्वद्धन गरेको कमला रोलिङ मिल्सले आफ्नो व्यापारलाई आक्रामक बनाउँदै लगेको छ । कम्पनीले व्यापारलाई आक्रामक बनाउँदै चालु आर्थिक वर्षको ९ महिनामै ८८ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो ।
तीन दशकभन्दा लामो अनुभव बोकेको कमला रोलिङ मिल्स मोरङको बूढीगंगा–३ मा छ। यसको वार्षिक उत्पादन क्षमता ८० हजार मेट्रिक टन रहेको छ। कम्पनीले कमला गोल्ड थर्मक्स ब्रान्डमा टीएमटी डन्डी, ग्याल्भन बक्स, जीआई वायर र काँडेतारजस्ता विविध स्टिल उत्पादन बिक्री गर्दै आएको छ।
सो कम्पनीले गत आवमा १ अर्ब ४६ करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब ४४ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब ८४ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब ७१ करोड रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले गत आवमा ३ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा मार्जिन गरेको थियो । सन् २०२४ मा ३ करोड ५० लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो । त्यस्तै, चालु आवको ९ महिनाको अवधिमा भने सञ्चालन नाफामा पुगेको छ ।
कम्पनीले चालु आवको ९ महिनाको अवधिमा २ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा मार्जिन गरेको छ । तर, खुद नाफामा भने कमी आएको छ । कम्पनीले सन् २०२४ मा ९ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवमा घटेर ३ करोड १० लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । चालु आवको ९ महिनाको अवधिमा झनै घटेर ९० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।
कम्पनीको कुल नगद सञ्चय भने बढेको छ । सन् २०२४ मा नकारात्मक रहेकोमा गत आवमा ६० लाख रुपैयाँ कुल नगद सञ्चय रहेको उल्लेख छ । साथै, चालु आवको ९ महिनाको अवधिमा कम्पनीको कुल नगद सञ्चय २ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको ऋण भने गत आवमा घटेको पाइएको छ । सन् २०२४ मा १ अर्ब २४ करोड ८० लाख रुपैयाँ ऋण रहेकोमा गत आवमा घटेर ९७ करोड १० लाख रुपैयाँमा झरेको छ । साथै, चालु आवको ९ महिनाको अवधिमा झनै घटेर ४० करोड ४० लाख रुपैयाँमा सिमित भएको छ । कम्पनीको समग्र गियरिङ अनुपातमा पनि सुधार आएको छ । गत आवमा कम्पनीको समग्र गियरिङ अनुपात १.०७ गुणा रहेको छ । सन् २०२४ मा १.३२ गुणा थियो । साथै, चालु आवको ९ महिनाको अवधिमा घटेर ०.४५ गुणा पुगेको छ ।
कम्पनीको जम्मा बाह्य दायित्व तथा ट्यान्जिबल नेट वर्थमा पनि सुधार आएको छ । सन् २०२४ मा १.४८ गुणा रहेकोमा गत आवमा १.२२ गुणामा झरेको छ । साथै, चालु आवको ९ महिनाको अवधिमा उक्त दायित्व र ट्यान्जिबल नेट वर्थ ०.५१ गुणा रहेको छ ।
यसका साथै कम्पनीको ब्याज कवरेज अनुपातमा पनि सुधार आएको छ । सन् २०२४ मा कमजोर ब्याज कवरेज अनुपात रहेकोमा गत आवमा १.८९ गुणा पुगेको थियो । तर, चालु आवको ९ महिनाको अवधिमा भने १.४७ गुणा रहेको छ । कम्पनीको ऋण सेवा कवरेज अनुपातमा पनि सुधार आएको छ । सन् २०२४ मा ०.१८ गुणा रहेकोमा गत आवमा बढेर १.३५ गुणा पुगेको थियो ।
सन् १९९२ मा विशाल ग्रुपले सञ्चालनमा ल्याएको कम्पनीमा जगदिशप्रसाद अग्रवालको २४.५४ प्रतिशत इक्विटी छ ।
विशाल ग्रुपद्धारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ४२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४४ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९७ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ ।
सरकारले भौतिक पूर्वाधार निर्माणमा विनियोजन गरेको बजेट र स्वदेशी उद्योगलाई दिने प्रोत्साहनले आगामी दिनमा स्टिलको माग बढ्ने र कम्पनीको व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ।
यद्धपि, व्यापारमा सुधार देखिए पनि कम्पनीका लागि कार्यशील पूँजी व्यवस्थापन अझै चुनौतीपूर्ण छ। कच्चा पदार्थको आयातमा पूर्ण निर्भर रहनुपर्दा विदेशी मुद्राको विनिमय दरमा हुने उतारचढाव र अन्तर्राष्ट्रिय बजारमा डन्डीको कच्चा पदार्थको मूल्यमा हुने परिवर्तनले कम्पनीको नाफामा असर पार्न सक्ने जोखिम छ।
यस्तै, स्टिल क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धा र निर्माण क्षेत्रमा आउने उतारचढावलाई पनि रेटिङ रिपोर्टले मुख्य चुनौतीका रूपमा औंल्याएको छ।
प्रतिक्रिया दिनुहोस