मुगु । डिभिजन वन कार्यालय मुगुको आयोजनामा आगलागी नियन्त्रण र सुरक्षासम्बन्धि जनचेतना अभिवृद्धिका लागि विशेष डेमो प्रदर्शन कार्यक्रम सम्पन्न गरिएको छ ।
मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी जंगलमा आगलागी हुने जोखिम बढ्दै गएको र जंगल वा बस्तीमा आकस्मिक रूपमा आगो लागेपछि अपनाउनुपर्ने तत्कालीन उपाय, प्रयोग गर्न सकिने सामग्री, र सुरक्षाका सावधानीबारे विस्तृत जानकारी दिइएको हो ।
सशस्त्र प्रहरी बल गुल्म नम्बर ४५ गुल्म मुगुको टोलीले ग्यासबाट लाग्ने आगो नियन्त्रण गर्ने व्यावहारिक अभ्यास देखायो । टोलीले सिलिन्डरमा आगो लागेपछि तुरुन्तै ग्यासको भल्भ बन्द गर्ने, फायर ब्ल्यांकेट वा कपडा प्रयोग गर्ने, बाल्टिनमा प्रयोग, हातको औँला प्रयोग गर्ने व्यवहारिक उपायहरू प्रदर्शन गरेका थिए ।

त्यसैगरी, गमगाढ विद्युत् वितरण केन्द्रका प्राविधिकहरूले विद्युत् सर्ट भएर लाग्ने आगो नियन्त्रणका उपाय प्रस्तुत गर्दै मुख्य स्विच बन्द गर्ने, सर्टको कारण पत्ता लगाउने र बिजुली उपकरण प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेबारे जानकारी गराए ।
कार्यक्रममा डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख बसन्ती बुढाले विगत केही वर्षयता मुगुमा बारम्बार हुने जंगल डढेलोका कारण वन स्रोत, वन्यजन्तु र मानवीय जीवनमा परेको क्षतिबारे जानकारी दिँदै आगलागी नियन्त्रण सबैको साझा जिम्मेवारी भएको बताइन् ।
उनका अनुसार यस्तो जनचेतनामूलक डेमो प्रदर्शनले गाउँघरका बासिन्दामा सचेतना फैलाउने र आपत्कालीन अवस्थामा तुरुन्त प्रतिक्रिया गर्न सहजता पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस