उनले पार्टी एकताको आधार वैचारिक तथा संगठनात्मक स्पष्टतामा हुनुपर्ने उल्लेख गर्दै विगतमा नेकपा (एमाले) भित्र देखिएका विभाजन, विकृति र विचलनबारे समीक्षा आवश्यक रहेको बताएका छन्।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले खुला पत्र सार्वजनिक गरेका छन्। पत्रमा उनले पार्टी एकतापछि आफूलाई कुनै जिम्मेवारी नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
पत्रमा खनालले आफू २०३० सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेको र विभिन्न चरणमा जिल्ला तथा केन्द्रीय तहसम्म काम गरेको उल्लेख गरेका छन्। २०७९ कात्तिकमा पार्टी एकताबद्ध भएपछि सात महिनाभन्दा बढी समय बितिसक्दा पनि आफूलाई कुनै जिम्मेवारी नदिइएको भन्दै उनले नेतृत्वसँग प्रश्न गरेका छन्।
उनले पार्टी एकताको आधार वैचारिक तथा संगठनात्मक स्पष्टतामा हुनुपर्ने उल्लेख गर्दै विगतमा नेकपा (एमाले) भित्र देखिएका विभाजन, विकृति र विचलनबारे समीक्षा आवश्यक रहेको बताएका छन्। एकता प्रक्रियामा आफूले चार वैचारिक सिद्धान्तमा सहमति जनाएको दाबी गर्दै हाल नेतृत्व ती आधारबाट विचलित भएको जस्तो देखिएको टिप्पणी गरेका छन्।
पत्रमा पार्टीभित्र फरक मत राख्ने नेताहरूलाई समेट्ने प्रतिबद्धता कार्यान्वयन नभएको, युवासम्बन्धी संगठनात्मक अभ्यासमा पनि पक्षपातपूर्ण व्यवहार भएको आरोप लगाइएको छ। उनले पार्टीलाई वैचारिक रूपमा सुदृढ र संगठनात्मक रूपमा एकताबद्ध बनाउन नेतृत्वले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
पत्रमार्फत उनले आफू मात्र नभई पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूलाई समेत आफ्नो धारणा जानकारी गराउने उद्देश्य रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस