बिहिवार , फाल्गुण १४, २०८२
Shares
Shares
कर्णाली । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष मुलुकलाई स्वर्णिम बनाउने गरी काम गर्ने बताएका छन् ।
सुर्खेतमा आज भएको कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गरे ।
उनले भने, “विगत पाँच–छ वर्ष केवल सरकार बनाउने र फेर्ने कामका लागिमात्र खर्च भयो । यसले तन्नेरीलाई रुष्ट बनायो । देशले गति समात्नु पर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ दूषित बनायो । अब २०८२ देखि २०८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौँ । यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउने छौँ भनेर सपना बोकेर आएका छौँ । हामीलाई नेपालको सीमितता थाहा छ । हामी यसलाई सुधार्छौँ । प्रतिज्ञापत्र सार्वजनिक गरेका छौँ । पाँच वर्ष भनेर कुरेर बस्दैनौँ । बैशाख १ गते आउँछ र एक महिनामा यो काम गर्यौँ भन्छ कांग्रेसले । जेठ १ गते आउँछ र एक महिनामा यी काम गर्यौँ भन्छौँ ।”
सभापति थापाले पाँच वर्षका योजनाबारे सबै दलसँग सामूहिक टेबलमा बस्न तयार रहेको बताए । तर कोही पनि यसका लागि तयार नभएको भन्दै उनले कोही कसैले कुनै नाटक गर्यो भने कर्णालीले त्यसलाई पत्याउन नहुने उल्लेख गरे ।
उनले भने, ‘आओस् एमाले, आओस् नेपाली कम्युनिष्ट पार्टी र आओस् रास्वपा । एउटै मञ्चमा बसेर योजना बनाउँभन्दा कोही नआउने ।”
सभापति थापाले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कुनै मुकुन्डोधारीले सिंहदरबार जलाउन पनि नहुने बताए । उनले भने, “सरकारको गोलीबाट कुनै पनि निहत्थाको ज्यान जानुहुँदैन । कुनै पनि मुकुन्डोधारीले सिंहदरबार अब जलाउनु पनि हुँदैन ।”
सभापति थापाले गत भदौ २३ गतेको आन्दोलनको जिम्मा लिने तर भदौ २४ गतेको विध्वंशको जिम्मा नलिने सोचले भोलि पनि मुलुकलाई दुर्घटना गराउन सक्ने बताए । विदेशमा भएकाहरुलाई सम्बोधन गर्दै उनले भने, “सिंगो कांग्रेसको जिम्मा लिएर बोल्दैछु, २०४६ सालपछि भएका भनिएका सुनिएका काण्डहरुको छानबिन गर्दै गर्दां मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन । पाँच वर्षमा एक जनाले पनि कुनै गलत गर्यो भनेर सुन्न पाउनु हुँदैन ।”
सभापति थापालेले मतदातालाई आग्रह गर्दै भने, ‘यो पाँच वर्षलाई परीक्षण नगरौँ । हामी काम गरेर देखाउने हो । कर्णालीका बारेमा सबै राम्रो भन्न सकिन्छ तर प्रश्नसँगसँगै करिब ४० प्रतिशत गरिबी बोकेर कर्णाली किन बसिरहेको छ ? देशभरिका बालबालिका बचाउँदा कर्णालीका किन बचाउन सकिएन ? समस्याको जरासम्म पुग्नुपर्छ ।”
कर्णाली र काठमाडौँ महानगरपालिकाको कुनै तुलनासमेत हुन नसक्ने सभापति थापाको भनाइ थियो । उनले भने, “कर्णालीको आय वार्षिक रु ५२ करोड छ । काठमाठौँमा रु १० अर्ब छ । प्रदेश सरकारले सबैभन्दा बढी कर यातायात र सडकबाट पाउँछ । यहाँ त यातायात र सडक नै कम छ ।”
कर्णालीको विकासको पहिलो मुद्धा संविधान पनि बदल कानुन पनि बदल भन्ने रहेको सभापति थापाले बताए । “काठमाडौँबाट कर लिन पाउने हक कर्णालीले लिनुपर्छ । म संविधान र कानून बदलाब गरौँ भनेर भन्छु । तर बनाउन कति दुःख छ । कर्णालीमा पैसा कम छ मात्र हैन खर्च गर्न सकिएको छैन । पहाडी र हिमाली जिल्लामा असार साउनभित्र खर्च गर्ने व्यवस्था राखेपछि कर्णालीको खर्च बजेट फ्रिज हुन्छ । अर्को वर्षको कार्तिक मंसिरसम्म नभएसम्म खर्च गर्न सकिन्न”, उनले भने ।
सूचनाको अवसरमा कर्णाली पछि परेको सभापति थापाले बताए । उनले भने, ‘त्यो सूचनाको उद्योगमा काम गर्न विज्ञान, अङग्रेजी र गणित राम्रो हुनुपर्छ । त्यसका लागि आमाको स्वास्थ्य राम्रो हुनुपर्छ । आमाको काखमा हुँदासम्म पाँच वर्षमै विज्ञान, अङ्ग्रेजी र गणितको अवस्था बच्चाले बुझेको हुन्छ । काठमाडौँले मात्र लाभ लिने हुन्छ । त्यसैले प्रतिस्पर्धाका लागि कर्णालीका आमा र पोषणका क्षेत्रमा काम गर्नुपर्छ ।”
सभापति थापाले कर्णालीको खर्च बाँदरले दिएको दुःखमा भएको उल्लेख गर्दै भने, “विकास बहुआयामिक छ । यहाँ हल्ला छ । को कसरी हात हल्लाउँदै छ यसको चर्चा छ ।”
कांग्रेसको प्रतिज्ञापत्रले अझै सबै ठाउँमा चर्चा बटुल्न नसकेको बताउँदै सभापति थापाले यथास्थितिवादी र अतिवादीले मुलुक नबनाउने दाबी गरे । उनले भने, ‘मैले दुई चार ओटा गालीको कुरा गरेँ भने त्यो बेलुका भाइरल भइहाल्छ । आएको हैन माओवादी ? खै के भयो ? नयाँ नयाँ भनेर आउँदै गर्दा देखेको होइन हामीले ? फेरि पनि भुलभुलैयामा पर्ने ? नेपाली कांग्रेस यही देशको पार्टी हो । हिजोका कमीकमजोरी मिल्काउँदै फाल्दै सच्चिने ठाउँमा सच्चिएर हामी कांग्रेस बदलेर आएका छौँ । देश पनि बदल्छौँ । पाँच वर्षमा देशलाई दुर्घटनामा जान दिन्नौँ । यथास्थितिवादीले देशलाई अगाडि बढ्न दिँदैन ।”
सुर्खेतको मैदानमा बोल्दै सभापति थापाले भने, “यो उत्साह यो चौरमा भएर हुँदैन । सबै साथीहरु गाउँ जानुस् । आफ्नो घरमा होइन मतदाताको घरमा पुग्नुस् । कांग्रेसको सन्देश दिलएर पुग्नुस् । पाँच वर्षलाई खेर जान दिन हुन्न भन्नुस् ।”
नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले देशको समृद्धि र युवा, महिला, जनजाति, दलित समुदायको सपनालाई अब कांग्रेसले मात्रै पूरा गर्न सक्ने बताइन् । कर्णाली क्षेत्रका १२ क्षेत्रका उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न उनले आग्रह गरिन् ।
उपसभापति भुसालले आफ्नो पार्टीले अगाडि सारेका सबै उम्मेदवार भ्रष्टाचार विरोधी र इमान्दार रहेको दाबीसमेत गरिन् । कांग्रेस बदलिएर आएको र देशको नेतृत्व गर्न पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भन्दै उनले पार्टीले घोषणा गरेका प्रधानमन्त्री हुनका लागि कर्णालीका सबै क्षेत्रबाट चुनाव जिताउनुपर्ने आग्रह गरिन् ।
कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक अभ्यासअनुसार देश चलाउने उपसभापति भुसालले बताइन् । उनले यहाँका नागरिकले आफ्नो मतदातबाट कांग्रेसलाई रूखमा मतदान गरेर जिताएर देशको विकासमा साथ दिन आग्रह गरिन् । उपसभापति भुसालले कांग्रेस किसान, महिला, बालबालिका, युवाको केन्द्रविन्दु् बन्न खोजेको भन्दै त्यहाँ नागरिकलाई मतबाट अनुमोदन गराउन आग्रह गरिन् ।
कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति खड्गबहादुर पोखरेल, सुर्खेत क्षेत्र नं १ र २ का उम्मेदवारद्वय विष्णुबहादुर खड्का र नारायणकुमार कोइराला, दैलेख क्षेत्र नं २ का उम्मेदवार दिक्पाल शाहीलगायतका नेताले कांग्रेसले देश निर्माणमा विभिन्न कालखण्डमा खेलेको भूमिका अग्रणी स्थानमा रहेको बताएका थिए ।
सभामा नेपाली कम्युनिष्ट पार्टीबाट धनलाल गुरुङ, भोजराज मल्ल, बलराम रावल, नारायण बस्नेतसहित ८० जना कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरूलाई सभापति थापाले पार्टीमा स्वागत गरेका थिए ।
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस