वीरगञ्ज । लामो समयदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तारको काम आज बिहानैदेखि सुरु गरिएको छ । बिहान ५ बजेदेखि त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक विस्तारको काम थालिएको हो ।
सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार सडकको मध्यभागबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र पर्ने संरचना हटाएर सडक विस्तार गरिनेछ ।
कामलाई तीव्र बनाउन एकैसाथ पाँच स्थानबाट सडक विस्तार सुरु गरिएको छ । यसका लागि डोजर, एक्साभेटरसहित ९ वटा उपकरण परिचालन गरिएको छ भने सुरक्षाकर्मीको तैनाथी पनि बढाइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालका अनुसार २५ मिटर क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने काम सुरु भएको छ । यसका लागि वीरगञ्ज महानगरपालिका, प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिएको उनले बताए ।
सर्वोच्च अदालतले २०८१ फागुन २८ गते सडक विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गर्दै रिट खारेज गरेपछि काम अघि बढाउने बाटो खुलेको हो ।
यसअघि करिब १ हजार २०० घरधनीले मुआब्जा र वैकल्पिक सडकको माग गर्दै रिट दायर गरेका थिए । त्यसपछि झन्डै १३ वर्षदेखि सडक विस्तारको काम अन्योलमा परेको थियो ।
अदालतको निर्णयपछि प्रशासनले संरचना हटाउँदै चरणबद्ध रूपमा सडक विस्तार अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस