काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू जीवनी लेख्न नहिँडेको नभई इतिहास लेख्न हिँडेको बताएका छन् ।
आइतबार ‘सक्षम सांसद, सशक्त संसद्’ विषयक प्रशिक्षण समापनमा सांसदहरूलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूलाई जीवनीप्रति कुनै रूचि नभएको पनि बताए । उनले भने, ‘कसैलाई लाग्ला म पार्टी सभापति बन्न, मन्त्री प्रधानमन्त्री बन्न, जीवनमा त्यसैको उद्देश्यमा लागेर हिँडेको हुँ । कसैलाई लाग्छ भने त्यो पूर्णरूपमा भ्रम हो । म जीवनी लेख्न हिँडेको होइन इतिहास लेख्न हिँडेको हुँ ।’
उनले रास्वपा अहिले जहाँ उभिएको छ, त्यो इतिहास लेख्ने ठाउँ भएको पनि बताए ।
रास्वपाका सांसदहरू नयाँ भएको कारणले मात्रै नभई सधैं सिक्ने र सिकाउने प्रक्रिया जीवनको एक अभिन्न अंग भएको उनले बताए ।
सभापति लामिछाने पछिल्लो समय विश्व राजनीतिले नयाँ मोड लिंदै गरेको अवस्थामा आफ्नो पार्टीको उदय भएको बताए ।
प्रतिक्रिया दिनुहोस