२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँ : सभापति लामिछाने

आइतवार , बैशाख २७, २०८३

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विधि र कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा आज उहाँले सामाजिक प्रतिष्ठालाई सफलताको मानक बनाउनेभन्दा कानुन बनाउने जिम्मेवारी लाग्न निर्देशनसमेत दिए ।

सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने प्रष्ट पारे । “सरकारले सोचेर कदम चालिरहेको छ, आजसम्म सरकारले गरेका निर्णयबाट दुःख मनाउन गर्नुपर्ने अवस्था छैन”, उनले भने, “कतिपय कानुन निर्माणलाई ‘फास्ट ट्र्याक’मा लिएर जान अध्यादेश ल्याइएको हो । नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय गरेका छैनौँ । हामी जनताको माया र देशको भविष्यप्रति चिन्तित छौँ ।”

सभापति लामिछानेले नेपाली जनताले परिवर्तनका लागि रास्वपालाई जनमत दिएको भन्दै चुनाव जित्दैमा सर्वगुण सम्पन्न छौँ भनेर नसोच्न सांसदहरूलाई आग्रह गरे । उनले विगतमा अन्य राजनीतिक दलले अनवरत सङ्घर्ष गरेर परिवर्तन ल्याएको उल्लेख गर्दै अब जनताको अवस्था बदल्ने जिम्मेवारी आफूहरूको काँधमा आएकाले सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

“विगतमा दलहरूले अनवरत सङ्घर्ष गरेर एकतन्त्रीय शासन ढालेका हुन्, जीवन जोखिममा राखेर परिवर्तनको यात्रामा होमिएका पार्टीहरूसँग केही असहमति भए पनि हामीले उहाँहरू जस्तो धेरै सङ्घर्ष गर्नुपरेको छैन”, उनले भने, “हिजो व्यवस्था बदलियो तर अवस्था नबदलिएकाले जनताले हामीलाई पत्याएका हुन् । विभिन्न राजनीतिक दलमा आस्थावानहरूले आफ्नो दल छोडेर हामीलाई मत दिएका छन्, त्यसैले कसैको मानमर्दन गर्नुहुँदैन ।”

सभापति लामिछानेले आमनागरिक, समाज र देशले हामीलाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिए । “हामी जीवनी लेख्ने यात्रामा हैन, इतिहास लेख्न हिँडेका हौँ । त्यसैले पार्टीमा योगदानको मूल्य माग्ने बेला भएको छैन । अब सबै मिलेर अवस्था बदल्ने क्रान्तिमा लागौँ”, उनले भने ।

सभापति लामिछानेले सबै सुकुमवासी र भूमिहीनलाई सरकारले अधिकार दिने बताए । “हामीले चुनावमा गरेका वाचाअनुसार काम गर्छौं । सुकुमवासी समस्यालाई उच्चस्तरीय आयोग बनाएर स्थायी समाधान गर्छौं । संविधानको मर्मअनुसार सबैका अधिकार सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ”, उनले भने ।

सभापति लामिछानेले संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको बताए । उनले सरकार बजेट बनाउन व्यस्त रहेको र त्यसलाई उत्कृष्ट बनाउने गरी अर्थमन्त्रीसँग छलफल भएको जानकारी दिए । उनले सिङ्गै देश हाम्रो निर्वाचन क्षेत्र हो भन्ने ठानेर राज्यको सामर्थ्य बढाउने गरी काम गरिने धारणा राखे ।

सभापति लामिछानेले सरकारले आमजनमानसमा सकारात्मक सन्देश दिने गरी काम गरिरहेको र सरकारको भूमिकालाई थप प्रभावकारी बनाउने गरी खबरदारी सधैँ अपेक्षित रहेको बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ