विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र वल्र्ड बैंक समूह अन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) को आयोजनामा विराटनगरमा “कोशी प्रदेशमा रहेका उच्च मूल्य कृषिवालीहरुको मूल्य श्रृंखला विकास तथा निर्यात प्रवृद्धन” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय विदुर लिडथेपको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशमा उत्पादन हुने अलैंची, अदुवा र बेसारजस्ता उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन वृद्धि तथा निर्यात प्रवद्र्धनका विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिडथेपले कोशी प्रदेशमा उत्पादन हुने उच्च मूल्य श्रृंखलाका वस्तुको उत्पादन तथा निर्यात वृद्धि गर्न प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

उनले निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले ठोस योजना र कार्ययोजना सहित अघि बढ्न आग्रह गर्दै आइएफसी र महासंघले सहकार्य गरी स्पष्ट खाका तयार गरे प्रदेश सरकारले सहजीकरण र सहयोगी भूमिका खेल्ने धारणा राखे ।
आइएफसीका साउथ एसिया रिजनका सिनियर अपरेशन अफिसर विजयशेकरले हाल नेपालमा उत्पादित अलैंची, अदुवा र बेसारको अधिकांश निर्यात भारततर्फ भइरहेको उल्लेख गर्दै अब तेस्रो मुलुकमा निर्यात विस्तार गर्न आवश्यक गुणस्तर, प्रशोधन तथा अन्तर्राष्ट्रिय मापदण्डका विषयमा केन्द्रित भएर काम गर्नुपर्ने बताए ।
उनले आइएफसी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश मिलेर आगामी दिनमा उत्पादन वृद्धि तथा निर्यात विस्तारका लागि सहकार्य गर्ने योजना रहेको जानकारी दिए ।
कार्यक्रममा आइएफसीका कन्सल्टेन्ट राजन शर्माले कोशी प्रदेशमा उत्पादन हुने अलैंची, अदुवा र बेसारको वर्तमान अवस्था तथा तथ्यांक प्रस्तुत गर्दै निर्यात वृद्धि गर्न व्यवसायीहरुले अपनाउनुपर्ने नीति, गुणस्तर व्यवस्थापन र बजार विस्तार सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले कोशी प्रदेशबाट चिया, अलैंची, अदुवा, अम्लिसो, छुर्पी, चीज, जडीबुटी तथा ताजा तरकारी भारतसहित विभिन्न मुलुकमा निर्यात हुँदै आएको उल्लेख गरे ।

उनले आगामी दिनमा विशेषगरी अदुवा, अलैंची र बेसारको उत्पादन तथा निर्यात प्रवृद्धनमा आइएफसीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख पशुपति पोखरेल, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मनोज यादव तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पुष्पलाल राईले कोशी प्रदेशमा गुणस्तर परीक्षणका लागि आधुनिक प्रयोगशाला अभाव रहेको, सुपर जोन घोषणा गरिएका क्षेत्रका उत्पादनले बजार नपाएको तथा बजार विस्तारमा निजी क्षेत्रले पनि सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे ।
त्यसैगरी अलैंची व्यवसायी निर्मल भट्टराई, बेसार व्यवसायी राजन आचार्य र केशव घिमिरे लगायतले आधुनिक प्रयोगशाला स्थापना, ड्रायर व्यवस्थापन तथा बजारीकरणमा समस्या रहेको गुनासो गरे । उनीहरुले हाल अलैंची, बेसार र अदुवाको निर्यात भारत केन्द्रित रहेकाले तेस्रो मुलुकमा निर्यात विस्तार गर्न संघीय तथा प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
युवा उद्यमी प्रतिक राउत, युनेश श्रेष्ठ र अविनायक मल्लले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सञ्जाल उपयोग गर्दै तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरी कृषिजन्य वस्तुको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पदाधिकारी, कार्यसमिति सदस्य, कोशी प्रदेश सरकार अन्तर्गत कृषि क्षेत्रका विभिन्न महाशाखाका प्रमुख, अलैंची, अदुवा, बेसार, कफीलगायतका व्यवसायी तथा कृषकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस