काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले पानीमा डुबेर तथा बगेर हुने बढ्दो मानवीय क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । गर्मी र वर्षायाम सुरु भएसँगै यस्ता दुर्घटना बढ्ने भन्दै उनीहरूले प्रभावकारी रोकथाम र देशव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका हुन् ।
बैठकको विशेष समयमा बोल्दै सांसद आशिष गजुरेलले नेपालमा हरेक वर्ष पानीजन्य दुर्घटनाबाट सयौँ नागरिकले ज्यान गुमाइरहेको डरलाग्दो तथ्यांक प्रस्तुत गरे । नेपाल प्रहरीको तथ्यांकअनुसार बर्सेनि करिब ४ सय जनाको डुबेर वा बगेर मृत्यु हुने गरेको छ भने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो संख्या १५ सयसम्म पुग्ने गरेको उनले संसद्लाई जानकारी गराए । दुःखद कुरा, यी दुर्घटनामा ज्यान गुमाउनेमध्ये आधाभन्दा बढी २५ वर्षमुनिका बालबालिका र युवाहरू रहेका छन् ।
सांसद गजुरेलले गत जेठ १० गते सिन्धुलीको सुनकोशी–५ सित्खामा नदीको भंगालोमा डुबेर दुई नाबालक सफल पुलामी मगर र युकेस बिकको मृत्यु भएको हृदयविदारक घटना स्मरण गरे । उनले यस्ता दुर्घटना देशभर बारम्बार दोहोरिने गम्भीर सामाजिक समस्याका रूपमा स्थापित भइसकेको बताए ।
सांसदहरूले विकास र पूर्वाधार निर्माणका क्रममा खुला खाल्डाखुल्डी छाड्ने, पानी जम्ने अवस्था सिर्जना गर्ने तथा न्यूनतम सुरक्षा मापदण्ड समेत पालना नगर्ने प्रवृत्तिका कारण पनि दुर्घटना बढेको औंल्याए । निर्माण कम्पनी, स्थानीय तह तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको र लापरवाही गर्ने पक्षलाई कडा कारबाहीको दायरामा ल्याउनुपर्ने माग संसद्मा उठेको छ ।
यस्ता घटना पटक–पटक दोहोरिए पनि सरकारका तर्फबाट दीर्घकालीन र प्रभावकारी रोकथामका पहल पर्याप्त हुन नसकेको सांसदहरूको ठहर छ । उनीहरूले नेपाल सरकार, स्थानीय तह, विद्यालय र अभिभावकलाई बालबालिकाको सुरक्षा, पूर्वसतर्कता र सुरक्षित वातावरण निर्माणमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
साथै, विद्यालयहरूमा नियमित सुरक्षा शिक्षा, जीवनोपयोगी तालिम र स्थानीय पालिकाहरूले समुदायस्तरमा तत्काल जनचेतना अभिवृद्धि अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता संसद्मा जोडदार रूपमा उठाइएको छ ।
प्रतिक्रिया दिनुहोस