२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च हो : सभामुख अर्याल

शुक्रवार , जेठ १५, २०८३

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसद् केबल कानुन निर्माण गर्ने थलोमात्र नभई लोकतान्त्रिक मूल्यमान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रिय हितको संरक्षण गर्ने प्रमुख मञ्च भएको बताएका छन् ।

उन्नाइसौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रलाई थप सुदृढ, जिम्मेवार तथा परिणाममुखी बनाउने दिशामा संसद्को भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेकामा जोड दिएका छन् । लोकतन्त्रको सुदृढीकरणबाट मात्र जनताले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी विकास प्राप्त हुने र राष्ट्र समृद्ध हुने उनको भनाइ छ ।

“आजको दिन नेपाली जनताको लामो राजनीतिक सङ्घर्ष, त्याग, बलिदान, समर्पण तथा लोकतान्त्रिक आकाङ्क्षाको महत्वपूर्ण उपलब्धिका रूपमा इतिहासमा अङ्कित दिन हो”, उनले भनेका छन्, “विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक अभ्यास, समावेशी शासन प्रणाली तथा सामाजिक न्यायको दिशामा भएको ऐतिहासिक परिवर्तनको गर्वमय अभिव्यक्ति हो ।”

सभामुख अर्यालले यस ऐतिहासिक अवसरमा लोकतन्त्र, गणतन्त्र, मानव अधिकार, समावेशिता, सामाजिक न्याय तथा प्रगतिशील परिवर्तनका पक्षमा भएका जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन, महिला आन्दोलन अन्य लोकतान्त्रिक सङ्घर्षमा आफ्नो जीवनउत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै घाइते, बेपत्ता पीडित तथा आन्दोलनका सम्पूर्ण योद्धा, अभियन्ता र परिवर्तनका संवाहकप्रति पनि उनले उच्च सम्मान व्यक्त गरेका छन् । “लोकतन्त्रको वास्तविक अर्थ नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन, सामाजिक न्यायको प्रत्याभूति, अवसरको समान पहुँच, आर्थिक समृद्धि तथा सम्मानपूर्ण जीवनयापनको वातावरण निर्माणसँग यसको प्रत्यक्ष सम्बन्ध रहन्छ”, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिनिधिसभा जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले जनभावना, जनचाहना तथा राष्ट्रिय आकाङ्क्षालाई नीति, कानुन र संसदीय अभ्यासमार्फत सम्बोधन गर्ने महत्वपूर्ण दायित्व निर्वाह गरिरहेको उनको भनाइ छ ।

“गणतन्त्र दिवसले हामी सबैलाई राष्ट्रिय एकता, लोकतान्त्रिक संस्कार, संवैधानिक सर्वोच्चता, सामाजिक न्याय तथा विकसित नेपाल निर्माणको साझा राष्ट्रिय सङ्कल्पप्रति थप प्रतिबद्ध, प्रेरित र एकताबद्ध बनाउन सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दै यस अवसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ