विराटनगर । कोशी प्रदेश स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तयारी पूरा भएको छ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जेठ १७ र १८ गते प्रादेशिक रंगशाला इटहरीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो।
आज इटहरीमा प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोर्डका सदस्य सचिव विप्लव घोषले बोर्डलाई प्राप्त छोटो समयको सदुपयोग गर्दै बोर्डले प्रतियोगिता आयोजना गर्न लागेका जानकारी दिए ।
उनले तयारीको लागि छोटो समय प्राप्त भएपनि प्रतियोगिता सम्पन्न गर्न बोर्डले सम्पूर्ण पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सदस्य सचिव विप्लव घोष १६ औँ संस्करणको प्रतियोगितामा प्रदेशका १४ जिल्लाका १ हजार ७०० बढी खेलाडी, प्रशिक्षकहरू सहभागिता रहने जानकारी दिए । उनले प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो, उसु लगायतको खेलहरू सम्पन्न हुने बताए ।
त्यस्तै, उनले प्रतियोगिताको आयोजनाका लागि प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष रामप्रसाद महतोको अध्यक्षतामा ४६ सदस्यीय मूल समारोह समिति र बोर्डका सदस्यहरूको संयोजनमा ११ उपसमिति समेत गठन गरिएको जानकारी दिए ।
करिब २ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको उद्घाटन प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने तयारी रहेको छ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरू कोशी प्रदेशलाई प्रतिनिधित्व गर्दै काठमाडौँमा हुने १६ औँ राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने छन्।
झन्डै ८ महिना पदाधिकारीबिहीन रहेको बोर्डले लामो समय पश्चतात खेलकुद प्रतियोगिता गर्दैछ।
प्रतिक्रिया दिनुहोस