काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रष्टीकरण दिएको छ ।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभा बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण दिएको हो ।
प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा सो अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिबारे चर्को आलोचना भइरहेको छ ।
प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको यो विषय मूलतः दसगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् ‘सीमा वारपारको जग्गा भोगाधिकार’ सँग सम्बन्धित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ । ती स्थान बाहेक अन्य केही स्थानहरूमा “क्रस बोर्डर अकुपेसन’’ तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन् ।’
नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढंगले नक्सांकन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दसगजा क्षेत्रको अतिक्रमण तथा ुक्रस बोर्डर अकुपेसनु को लगत संकलन गर्न दुई देशका सीमासम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील रहेको पनि परराष्ट्रले जनाएको छ ।
‘प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ, सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नुभएको ‘कतिपय स्थानमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने’ भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र ’क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस