काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यतिबेला काठमाडौं र दिल्ली दुवैतिर सुनिएका राजनीतिक गड्याङगुडुङका आवाजहरू त्यति प्रिय नरहेको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जारी भारत भ्रमण र कूटनीतिक भेटघाटलाई लक्षित गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
सामाजिक सञ्जालमार्फत डा. भट्टराईले रवि लामिछानेको द हिन्दुस्तान टाइम्समा प्रकाशित लेखले नेपाल र भारत दुवै देशमा राम्रै तरङ्ग ल्याएको र त्यसमा आफ्नो पनि सहमति रहेको उल्लेख गरेका छन् ।
आफ्नो प्रधानमन्त्रीकालमा भएको बिप्पा सम्झौताको स्मरण गर्दै डा. भट्टराईले नेपाल–भारत सम्बन्धमा बाहिर देखिने र भित्र हुने कुरा फरक रहेको तर्क गरे । उनले लेखेका छन्ः नेपाल–भारत सम्बन्धको मामिलामा विकास साझेदारी र सभ्यता–संस्कृति (रोटी–बेटी) का कुरा गरून्जेल दुबैतिर वाहीवाही नै हुन्छ ।
मेरो पालामा आफ्नै तत्कालीन पार्टीभित्रका एकथरीको विरोधका बाबजुद मैले बिप्पा सम्झौता गर्दा अब विकासको ओइरो लाग्ने भो भनेर दुवैतर्फ खुसी छाएकै हो । तर कथाको त्यो बाहिर देखिने पाटो मात्रै हो । अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, सधैँ दुःख दिइरहने गम्भीर पाटो पनि छ। त्यसबारे हामी खुला रूपमा बोल्दैनौँ तर खाष्टोमुनि मुड्की बजारीरहन्छौँ।
कूटनीतिक गाँठो फुकाउनका लागि आफूले दुवै देशका जिम्मेवार मानिस र आम जनसमुदायको मनोविज्ञान बुझेर प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को अवधारणा अघि सारेको डा. भट्टराईले स्मरण गराएका छन् । तर, दुर्भाग्यवश उक्त ईपीजी प्रतिवेदन अहिलेसम्म मृत्युशैय्यामा छट्पटाइरहेको उनको भनाइ छ।
उनले रास्वपा सभापति रवि लामिछानेको वर्तमान दिल्ली भ्रमण यो पुरानो दुष्चक्र र आशंकाको वातावरण तोड्न सफल रहोस् भन्दै शुभकामना समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस