काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को रोमाञ्चक खेलमा पूर्व विजेता उरुग्वे र साउदी अरबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा उरुग्वेले पुनरागमन गर्दै हार टारेको हो ।
यो नतिजासँगै समूह ‘एच’ को समीकरण निकै रोचक बनेको छ । यसअघि भएको खेलमा स्पेन र केप भर्डेले पनि १–१ को बराबरी खेलेका कारण पहिलो खेलपछि यस समूहका चारै टोलीको समान एक–एक अंक भएको छ ।
खेलको सुरुवातदेखि नै उरुग्वेले दबाब बनाए पनि पहिलो हाफमा अग्रता भने साउदी अरबले लियो । खेलको ४१औँ मिनेटमा अब्दुल्लाह अलाम्रीले उत्कृष्ट गोल गर्दै साउदीलाई १–० को सरप्राइज अग्रता दिलाएका थिए । पहिलो हाफमा साउदीको रक्षापंक्तिले उरुग्वेका स्टार स्ट्राइकरहरूलाई पूर्ण रूपमा रोक्न सफल भएको थियो ।
एक गोलले पछि परेको उरुग्वेले दोस्रो हाफमा साउदीविरुद्ध निरन्तर आक्रामक रणनीतिका साथ दबाब सिर्जना गर्यो । खेलभर साउदीको पोस्टमा ११ पटक लक्ष्यमा (अन टार्गेट) प्रहार गरेको उरुग्वेले खेलको ८०औँ मिनेटमा मात्र सफलता पायो । म्याक्सी अराजोले डिफेन्स लाइनलाई तोड्दै गोल गरेपछि खेल १–१ को बराबरीमा आयो ।
बाँकी समय र इन्जुरी समयमा दुवै टोलीले स्पष्ट ३ अंकका लागि केही राम्रा अवसरहरू सिर्जना गरे पनि बललाई जाली चुमाउन सकेनन् र अंक बाँड्न बाध्य भए ।
विश्वकप अन्तर्गत मंगलबार बिहानै भएको समूह ‘जी’ को उद्घाटन खेलमा पनि उपाधि दाबेदार बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेलेका थिए । विश्वकपमा आजै हुने अर्को खेलमा इरान र न्यूजिल्यान्ड आमनेसामने हुँदैछन् ।
प्रतिक्रिया दिनुहोस