२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

चार महिनापछि सकिँदै ‘आधा ग्यास’को सास्ती : १० दिनमै फुल सिलिन्डर दिने निगमको दाबी

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं / चार महिनाभन्दा बढी समयदेखि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्रै पाउँदै आएका उपभोक्ताले अझै पनि सास्ती खेपिरहेका छन् । अमेरिका–इरान तनावका कारण अन्तर्राष्ट्रिय बजारमा उत्पन्न आपूर्ति संकटलाई कारण देखाउँदै नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास वितरण सुरु गरेको थियो । तर, अमेरिका र इरानबीच युद्धविराम भइसकेपछि तथा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आइसके पनि नेपाली उपभोक्ताले भने अझै पूर्ण सिलिन्डर ग्यास पाउन सकेका छैनन् ।

आधा सिलिन्डर ग्याससमेत सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताले व्यापक गुनासो गरिरहेका छन् । विशेषगरी शहरी क्षेत्रमा ग्यासको अभावले दैनिक जीवन प्रभावित बनेको छ भने उपभोक्ताहरू अतिरिक्त खर्च गरेर वैकल्पिक इन्धन प्रयोग गर्न बाध्य भएका छन् । 

यता, नेपाल आयल निगमले भने अबको करिब १० दिनभित्रै आधा सिलिन्डर वितरणको व्यवस्था अन्त्य गरी पूर्ण सिलिन्डर ग्यास उपलब्ध गराउने दाबी गरेको छ । 

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार नेपाल खाना पकाउने एलपी ग्यासका लागि पूर्ण रूपमा भारतमा निर्भर छ। भारतले प्रयोग गर्ने ग्यासको ठूलो हिस्सा होर्मुज  समुन्द्री नाका हुँदै आयात हुने भएकाले त्यहाँको तनावले आपूर्तिमा असर परेको थियो ।
प्रवक्ता ठाकुरका अनुसार हाल नेपालमा दैनिक करिब ५० देखि ६० बुलेट ग्यास मात्रै भित्रिरहेको छ, जुन परिमाणले देशभरका उपभोक्तालाई पूर्ण सिलिन्डर वितरण गर्न पर्याप्त छैन।

उनले भने, ‘पूर्ण सिलिन्डर ग्यास वितरण गर्न दैनिक करिब १०० बुलेट ग्यास आवश्यक पर्छ,भारतीय आयल निगमसँग निरन्तर समन्वय भइरहेको छ। उहाँहरूले अब १० दिनभित्र आपूर्ति सहज हुने जानकारी दिनुभएको छ। त्यसपछि उपभोक्तालाई पुनः पूर्ण सिलिन्डर ग्यास उपलब्ध गराउन सकिन्छ भन्ने हाम्रो अपेक्षा छ ।’

निगमका अनुसार भारतीय पक्षबाट पर्याप्त मात्रामा ग्यास आपूर्ति हुन थालेपछि हाल लागू गरिएको आधा सिलिन्डर वितरण प्रणाली हटाइनेछ।

ग्यासको मूल्य घट्ला कि नघट्ला ?

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि नेपालमा एलपी ग्यासको मूल्य तत्काल घट्ने वा नघट्ने विषय भने अझै स्पष्ट भएको छैन।
प्रवक्ता ठाकुरका अनुसार भारतीय आयल निगमले हरेक अंग्रेजी महिनाको अन्त्यमा नयाँ मूल्यसूची पठाउने गर्छ। हाल नेपालमा लागू मूल्य मे महिनाको मूल्यसूचीका आधारमा निर्धारण गरिएको हो ।

उनले भने, ‘जुन महिनाको नयाँ मूल्यसूची प्राप्त भएपछि मात्रै मूल्य समायोजनबारे यकिन भन्न सकिन्छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको भए पनि नेपालले प्रशोधित पेट्रोलियम पदार्थको मूल्यका आधारमा कारोबार गर्ने भएकाले सोहीअनुसार मूल्य समायोजन हुन्छ । ’

उपभोक्ताको प्रश्न : कहिले सकिन्छ ग्यासको सास्ती ?

लामो समयदेखि आधा सिलिन्डर ग्यास वितरण हुँदा उपभोक्ताले दोहोरो समस्या भोगिरहेका छन् । एकातिर पर्याप्त ग्यास नपाउने, अर्कोतिर नयाँ सिलिन्डर लिन पटक–पटक डिलरसम्म धाउनुपर्ने बाध्यता छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट