काठमाडौं । जापान र स्वीडेनले रोमान्चक बराबरी खेल्दै फिफा विश्वकप २०२६ को नकआउट चरण (अन्तिम ३२) मा आफ्नो स्थान सुरक्षित गरेका छन् । अमेरिकाको डालासस्थित स्टेडियममा शुक्रबार बिहान सम्पन्न समूह ‘एफ’ को अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै दुवै टोलीले अंक बाँडेका हुन् ।
रक्षात्मक रूपमा बलियो देखिएका दुवै टोलीबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा खेलले नयाँ मोड लियो। खेलको ५६औँ मिनेटमा दाइजेन माएदाले उत्कृष्ट गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाए ।
तर, जापानको त्यो खुसी धेरै समय टिक्न पाएन। खेलको ६२औँ मिनेटमा स्वीडेनका स्टार फरवार्ड एन्थोनी एलान्गाले जवाफी गोल फर्काउँदै स्वीडेनलाई खेलमा फर्काए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल बराबरीमा टुङ्गियो ।
यो बराबरी खेलको नतिजाले समूह ‘एफ’ बाट तीनवटा टोलीलाई नकआउट चरणको टिकट दिलाएको छ । ७ अंक जोडेको नेदरल्यान्ड्स यसअघि नै समूह विजेता बनिसकेको छ भने ट्युनिसिया अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ
जापानले लगातार तेस्रो पटक विश्वकपको नकआउट चरणमा पुगेर नयाँ इतिहास रचेको छ । सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको जापानले यसअघि सन् २००२, २०१०, २०१८ र २०२२ मा पनि नकआउट चरणको यात्रा तय गरिसकेको छ ।
अर्कातर्फ, सन् २०२२ को कतार विश्वकपमा छनोट हुन समेत असफल भएको स्वीडेनले यसपटक बलियो कमब्याक गरेको छ। सन् १९५८ को विश्वकप उपविजेता स्वीडेन यसअघि सन् २०१८ मा क्वार्टरफाइनलसम्म पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस