काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशनबाट डा. स्वर्णिम वाग्ले उपसभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । प्रतिस्पर्धी उम्मेदवार विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वर्तमान अर्थमन्त्रीसमेत रहेका वाग्ले निर्विरोध चयन भएका हुन् ।
यसअघि नै पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । शीर्ष दुई पदमा सर्वसम्मत नेतृत्व चयन भएसँगै रास्वपाले नयाँ कार्यसमिति गठनको प्रक्रियालाई उत्साहजनक रूपमा अघि बढाएको छ ।
तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन सांगठनिक र प्राविधिक कारणले गर्दा छैटौँ दिनसम्म लम्बिएको छ । महाधिवेशन लम्बिए पनि नयाँ नेतृत्व चयनका लागि आन्तरिक गृहकार्य र निर्वाचन प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ ।
विभिन्न पदका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने कार्य अझै बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनका क्रममा नीति, विधि र प्रक्रियालाई लिएर केही आन्तरिक असन्तुष्टि र विवादका विषयहरू उठे पनि नेतृत्वले त्यसलाई संवादमार्फत हल गर्दै लगेको छ । यसैक्रममा, बिहीबार केन्द्रीय सदस्य पदको निर्वाचन परिणाम औपचारिक रूपमा सार्वजनिक गरिएको थियो ।
केन्द्रीय सदस्यहरूको टुंगो लागेसँगै अब महामन्त्री, सहमहामन्त्री लगायतका बाँकी महत्त्वपूर्ण पदाधिकारी चयन प्रक्रियातर्फ महाधिवेशनको ध्यान पूर्ण रूपमा केन्द्रित भएको छ ।
प्रतिक्रिया दिनुहोस