पछिल्लो समय सहकारी क्षेत्रप्रति बढ्दो अविश्वास, तरलता व्यवस्थापन, कर्जा असुली र संस्थागत सुशासनका विषयमा बहस तीव्र भइरहेका बेला विराटनगरमा सहकारी क्षेत्रको सुधार र सुरक्षित भविष्यका उपायबारे व्यापक छलफल गरिएको छ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) को आयोजनामा शनिबार सम्पन्न ‘सहकारी क्षेत्रमा देखा परेका समस्या, चुनौती र सुरक्षित भविष्यका लागि सुधारका आयामहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा सहकारी क्षेत्रका अगुवा, नेतृत्व तह तथा सरोकारवालाले वर्तमान संकटको समीक्षा गर्दै सुधारको स्पष्ट दिशाबारे धारणा राखेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेल ले केही व्यक्तिको गलत नियत र गैरजिम्मेवार अभ्यासका कारण समग्र सहकारी अभियान नै आलोचनाको केन्द्रमा पुगेको बताए। उनले सहकारी क्षेत्रप्रति नागरिकको भरोसा पुनःस्थापित गर्न संरचनागत तथा नीतिगत सुधारका काम सुरु भइसकेको उल्लेख गरे।
उनका अनुसार सहकारीमैत्री नीति निर्माणका लागि महासंघले सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको छ। उनले अहिले सहकारी संस्थाहरूमा तरलता बढे पनि कर्जा प्रवाह प्रभावकारी हुन नसकेको र वितरण भएको कर्जा समेत अपेक्षित रूपमा असुल हुन नसक्दा चुनौती बढ्दै गएको बताए। बजारमा लगानीको वातावरण कमजोर हुँदा सहकारीहरूले व्यवसाय विस्तारमा समेत अपेक्षित सक्रियता देखाउन नसकेको उनको भनाइ थियो।
कार्यक्रममा सहकारी बैंकका अध्यक्ष लक्ष्मि प्रसाद उप्रेती ले नीति–नियमको पूर्ण पालना र संस्थागत अनुशासनलाई सहकारी सफलताको आधारका रूपमा प्रस्तुत गरे। उनले सक्षम सहकारी संस्थाहरू निर्माण भए मात्रै सहकारी बैंक पनि मजबुत बन्ने उल्लेख गर्दै बैंकलाई सबैको भरोसायोग्य वित्तीय संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेफ्स्कूनकी पूर्व केन्द्रीय सदस्य गोमा नेपाल ले सहकारी अभियानमा धेरै सकारात्मक अभ्यास भइरहेका भए पनि सार्वजनिक बहसमा नकारात्मक पक्ष मात्रै प्राथमिकतामा पर्ने प्रवृत्तिले अभियानप्रति गलत धारणा निर्माण भइरहेको बताइन्। उनले कमजोरी लुकाउने होइन, पहिचान गरेर सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन्।
राष्ट्रसेवक साकोसका अध्यक्ष जीवन काफ्लेले एउटा सहकारी संस्थामा देखिएको समस्या समग्र सहकारी क्षेत्रमाथि असर गर्ने भएकाले प्रत्येक संस्थाले आफूलाई पारदर्शी, उत्तरदायी र उत्कृष्ट बनाउने संस्कार विकास गर्नुपर्ने बताए।
संस्थाका सचिव ओम सुवेदीले सहकारी अभियानलाई बलियो बनाउन निरन्तर बहस, समीक्षा र अनुभव आदानप्रदान आवश्यक रहेको उल्लेख गरे। प्रारम्भिक सहकारीहरूले यस्तो पहल गरिरहेकाले अब अभियानको नेतृत्व तहले पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा मोरङ जिल्लाका विभिन्न सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा सहकारी अभियन्ताहरूको सहभागिता रहेको थियो।
सोही अवसरमा राष्ट्रसेवक साकोसले सहकारी बैंकको अध्यक्षमा निर्वाचित लक्ष्मि प्रसाद उप्रेती लाई सम्मान समेत गरेको थियो।
प्रतिक्रिया दिनुहोस