काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली ले राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गतेका घटनाबारे गरेको भनिएको छानबिन तथा अनुसन्धानसँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन औपचारिक निवेदन दर्ता गराएका छन्।
ओलीका तर्फबाट एमाले नेता महेश बतौलाले शनिबार आयोगका सचिव मुरारी खरेल लाई भेटेर राष्ट्रिय मानवअधिकार आयोग मा निवेदन दर्ता गरिएको जानकारी दिइएको छ।
निवेदनमा २०८२ भदौ २३ गते संसद भवन लक्षित गतिविधि, प्रहरीसँगको झडप तथा त्यसपछिका घटनामा मानवीय क्षति भएको विषयमा आयोगले गरेको भनिएको अनुसन्धान सार्वजनिक भएको उल्लेख गरिएको छ। त्यसैगरी भदौ २४ गते देशभर भएका आगजनी, तोडफोड, लुटपाट तथा सरकारी तथा निजी संरचनामा भएको क्षतिको विषयमा आयोगले छानबिन गरेको भनिएको दाबी पनि गरिएको छ।
ओलीले आयोगको बैठक नम्बर १७७ को सार्वजनिक भएको निर्णयप्रति प्रश्न उठाउँदै निर्णयको सिफारिस खण्ड र तथ्यगत आधारबीच मेल नखाएको जस्तो देखिएको दाबी गरेका छन्। उनले आफूविरुद्ध सार्वजनिक गरिएको भनिएको निष्कर्षको कानुनी तथा तथ्यगत आधार थाहा पाउने अधिकार आफूलाई रहेको बताएका छन्।
निवेदनमा आयोगले गरेको भनिएको निर्णय वास्तविक हो वा होइन भन्ने स्पष्ट गर्न तथा त्यसको आधारमा संकलित तथ्य, प्रमाण र अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन माग गरिएको छ।
ओलीले आयोगसँग चार बुँदामा कागजात माग गरेका छन्, जसमा आयोगको निर्णय नम्बर १७७ को प्रमाणित प्रतिलिपि, आयोगका सदस्यको नेतृत्वमा बनेको भनिएको छानबिन समितिको प्रतिवेदन, प्रतिवेदनमा गरिएको संशोधन वा थपघटको विवरण तथा संकलित बयान र कागजातहरूको प्रतिलिपि समावेश छन्।
निवेदनमा आयोगलाई कानूनको पालना तथा पारदर्शिता कायम गर्न आवश्यक सहयोग गर्न आग्रह समेत गरिएको छ।
प्रतिक्रिया दिनुहोस