काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका १३ जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्दैछ ।
आफ्नो नेटवर्कलाई अत्याधुनिक प्रविधिमा स्तरउन्नति गर्ने योजनाअनुसार देशका पाँच प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा एनसेलले थ्रीजी (3G) सेवा बन्द गर्ने भएको हाे ।
कम्पनीले दिएकाे जानकारी अनुसार आगामी असार २२ गतेदेखि कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न स्थानीय तहमा थ्रीजी सेवा क्रमशः बन्द गरिने छ। भोजपुर, दाङ, धनकुटा, मकवानपुर, प्यूठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, संखुवासभा, सप्तरी, तेह्रथुम र उदयपुरका स्थानीय तहहरूबाट चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्न लागिएकाे एनसेलका अधिकारीहरुले बताएका छन् ।
नयाँ प्रविधिमा रूपान्तरण गर्दै सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले ग्राहकलाई फोरजी (4G) तथा भोल्टे (VoLTE) सेवा प्रयोग गर्न एनसेलले सबैलाइ आग्रह समेत गरेकाे छ ।
एनसेलका अनुसार थ्रीजी सेवा बन्द भए पनि भोल्टे सक्रिय गरेका ग्राहकले ४जी नेटवर्कमार्फत नै उच्च गुणस्तरको भ्वाइस र डाटा सेवा प्रयोग गर्न सक्नेछन्। ग्राहकले हालकै शुल्कमा अझ स्पष्ट कल र तीव्र गतिको इन्टरनेट सेवा पाउने कम्पनीको दाबी छ।
भोल्टे सेवा प्रयोग गर्न ग्राहकले आफ्नो मोबाइलबाट *१२३*११# डायल गरी सेवा सक्रिय गर्नुपर्नेछ। त्यसपछि मोबाइलको सेटिङमा गएर VoLTE विकल्प 'अन' गर्नुपर्ने कम्पनीले जनाएको छ।
देशको करिब ९५ प्रतिशत जनसंख्यामा ४जी नेटवर्क विस्तार गरिसकेको उल्लेख गर्दै एनसेलले आधुनिक प्रविधिमार्फत अझ गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।
विश्वभर नै दूरसञ्चार सेवा प्रदायकहरू पुरानो हुँदै गएको थ्रीजी प्रविधिलाई क्रमशः बन्द गर्दै ४जी र ५जी सेवामा केन्द्रित भइरहेका छन्। सोही प्रवृत्तिअनुसार एनसेलले पनि थ्रीजी सेवा फेजआउट गर्ने निर्णय गरेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणले वैशाखमा सार्वजनिक गरेको तथ्यांकअनुसार हाल एनसेलका करिब १ करोड ४६ लाख फोरजी सेवाग्राही छन् भने थ्रीजी प्रयोगकर्ताको संख्या करिब ९० हजारमा सीमित छ। पछिल्लो समय दूरसञ्चार कम्पनीहरूले ४ जी सेवाको विस्तारलाई तीव्र बनाउँदै लगेपछि थ्रीजी सेवा क्रमशः विस्थापित हुँदै गएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस