काठमाडौं । देशभर मनसुनी वायु पूर्ण रूपमा सक्रिय भएसँगै मौसममा ठूलो बदलाव आएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन (असार १६, १७ र १८ गते) देशका अधिकांश हिस्सामा भारीदेखि धेरै भारी वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन (हाई अलर्ट) अपिल गरेको छ ।
मौसमविद्हरूका अनुसार यो अवधिको वर्षाले पहाडी भेगमा पहिरो र तराईमा डुबानको खतरा बढाउने देखिएको छ ।
मंगलबारको मौसमी अवस्था
आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भर्खरै भारी वर्षा समेत सुरु भइसकेको छ ।
विशेषगरी आज रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । ती प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा तीव्र गतिको हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।
बुधबार र बिहीबारको मौसमी अवस्था
बुधबार (असार १७) देशभर पूर्णतया बदली रहनेछ । पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ भने मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मुसलधारे (भारी) वर्षाको पूर्वानुमान गरिएको छ । तराईमा हावाहुरीको जोखिम कायमै रहनेछ ।
बिहीबार (असार १८) पनि मौसममा खासै सुधार आउने छैन । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै मधेस प्रदेशका थप केही स्थानमा भारी वर्षा र हुरीबतासको जोखिम कायम रहने मौसमविद्ले बताएका छन् ।
वर्षा र पहिरोका कारण सडक तथा हवाई यातायात सेवा समेत प्रभावित हुन सक्ने भएकाले लामो दूरीको यात्रा गर्दा विशेष ध्यान दिन, नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन र मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पछ्याउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस