काठमाडाैं । नेपाल राष्ट्र बैंकले फेरि ४५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ जारी गर्ने भएको हो।
यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। यसको बोलकबोल आज दिउँसो ३ बजे अनलाइन माध्यमबाट हुनेछ । बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ।
यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८४ असार १७ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ। आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँड गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँड रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस