२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

२५ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग ब्युँताउने तयारी : दुई महिनाभित्र सेनाले परीक्षण उत्पादन गर्ने

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं,/ वर्षौंदेखि बन्द रहेको र पटक–पटक पुनः सञ्चालनको घोषणा भएर पनि व्यवहारमा अघि बढ्न नसकेको हेटौंडा कपडा उद्योग फेरि ब्युँताउने तयारी सुरु भएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित पहिलो चरणमा नेपाली सेनामार्फत दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने गरी काम अघि बढाएको हो।

उद्योग पुनः सञ्चालनको कार्यदिशासहित तयार अध्ययन प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई बुझाइएको छ। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले मंगलबार मन्त्री यादवलाई प्रतिवेदन हस्तान्तरण गरेको हो।

प्रतिवेदन औपचारिक रूपमा बुझाउनुअघि नै उद्योगमा रहेका पुराना मेसिन मर्मत र परीक्षण उत्पादनको प्रारम्भिक तयारी सुरु भइसकेको छ। सरकारले दिएको समयसीमाअनुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन थाल्नुपर्नेछ।

त्यसका लागि अर्थ मन्त्रालयले असार पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ। बजेट प्राप्त भएसँगै सेनाको प्राविधिक टोली उद्योगस्थलमा परिचालन भएको छ।

टोलीले उद्योग परिसरको सरसफाइसँगै परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिद गरिसकेको छ। सैनिक सामग्री उत्पादन निर्देशनालयको प्राविधिक टोलीले उद्योगमा रहेका मेसिनको मर्मतसमेत सुरु गरेको प्रतिवेदनमा उल्लेख छ।

उद्योगको जीर्ण भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयले ५० लाख रुपैयाँको लागत अनुमान तयार पारेको छ। सोही अनुमानका आधारमा उद्योगका संरचना मर्मत गर्ने जिम्मेवारी पूर्वाधार मन्त्रालयले लिएको छ।
यस्तै, उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको जिम्मा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई दिइएको छ। उद्योगको विद्युत् मर्मतसम्बन्धी काम भने सम्पन्न भइसकेको जनाइएको छ।

सरकारले तत्काल नयाँ मेसिन खरिद नगरी उद्योगमा रहेका पुरानै मेसिन मर्मत गरेर परीक्षण उत्पादन गर्ने रणनीति लिएको छ। परीक्षण उत्पादनको नतिजा र प्राविधिक अवस्थाका आधारमा उद्योगलाई पूर्ण क्षमतामा दीर्घकालीन रूपमा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिनेछ।

डीपीआरपछि उद्योग सञ्चालनको मोडालिटी, आवश्यक लगानी, कानुनी व्यवस्था तथा नीतिगत निर्णयबारे सरकारले थप प्रक्रिया अघि बढाउने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राष्ट्रिय औद्योगिक इतिहास र गौरवसँग जोडिएको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्।

कार्यदलले दिएका सुझावअनुसार निर्धारित समयभित्रै परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धतासमेत मन्त्री यादवले व्यक्त गरेकी छन्।

वर्षौंदेखि बन्द उद्योग सञ्चालनका नाममा पटक–पटक अध्ययन र घोषणा हुँदै आए पनि उत्पादन सुरु हुन सकेको थिएन। यसपटक भने बजेट निकासा, सेनाको प्राविधिक टोली परिचालन, मेसिन तथा विद्युत् मर्मत र कच्चा पदार्थ खरिदसमेत अघि बढेकाले हेटौंडा कपडा उद्योगबाट फेरि कपडा उत्पादन हुने अपेक्षा बढेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट