काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो जाने, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुने जोखिम उच्च बनेपछि कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली जाने सवारीसाधनको आवागमन अस्थायी रूपमा पूर्ण रूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार एक सूचना जारी गर्दै असार ३० गते (आज) बिहान ५ः०० बजेदेखि असार ३१ गते बिहान ६ः०० बजेसम्म २५ घण्टाका लागि बन्द गर्ने निर्णय गरेको हो ।
यो अवधिमा कान्ति लोकपथ भएर चल्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सबै प्रकारका सवारीसाधनको सञ्चालनमा रोक लगाइएको छ । देशभर मनसुन सक्रिय भई लगातार वर्षा भइरहेकाले पहाडी तथा भिरालो सडकखण्डमा यात्रा गर्नु अत्यन्तै जोखिमपूर्ण रहेको प्रशासनले जनाएको छ ।
विशेष गरी कान्ति लोकपथका अधिकांश सडकखण्डहरू वर्षायाममा पहिरोको चपेटामा पर्ने गरेकाले यात्रु र सवारीसाधनको सुरक्षालाई सर्वोपरि ठानी ललितपुर र मकवानपुर जिल्ला प्रशासन कार्यालयबीचको आपसी समन्वयमा यो निर्णय लिइएको हो । सम्भावित विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सर्वसाधारण, यातायात व्यवसायी तथा सरोकारवाला सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
ललितपुर प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न, यात्रा गर्नुअघि मौसम तथा सडक अवस्थासम्बन्धी आधिकारिक सूचना लिन र सुरक्षा निकायबाट जारी निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
साथै, सडकखण्डमा यात्रा गर्दा वा बस्तीमा कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल उद्धार र राहतका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न भनिएको छ । यसका साथै नजिकको स्थानीय तह, सुरक्षा निकाय वा स्थानीय प्रशासनमा तत्काल जानकारी गराउन समेत प्रशासनले सबैमा अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस