काठमाडौं । बागमती प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र सरकारी संरचना चुस्त बनाउने उद्देश्यले मन्त्रालयको संख्या घटाउने निर्णय कार्यान्वयनमा ल्याएसँगै आजदेखि ६ जना मन्त्री बिना विभागीय भएका छन्।
प्रदेश सरकारले नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन अर्थात् साउन १ गतेदेखि लागू हुने गरी मन्त्रालयको संख्या घटाएर ७ मा सीमित गरेको हो। यसअघि रहेको मन्त्रालय संरचना कटौती भएपछि नयाँ मन्त्रालयको जिम्मेवारी तोकिँदासम्म ६ मन्त्री बिना विभागीय बनेका हुन्।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाले मन्त्रालयको संख्या घटाउने प्रस्ताव प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए। प्रदेश प्रमुखबाट स्वीकृति पाएपछि उक्त निर्णय कार्यान्वयनमा आएको हो।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसँगै अनावश्यक प्रशासनिक खर्च घटाउने, दोहोरो जिम्मेवारी हटाउने र प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयको संख्या घटाएको जनाएको छ।
यसअघि बागमती प्रदेशमा मन्त्रालयको संख्या बढ्दै जाँदा प्रशासनिक खर्च अनावश्यक रूपमा बढेको भन्दै आलोचना हुँदै आएको थियो। प्रदेश सरकार गठनयता मन्त्रालयको संख्या विभिन्न समयमा फेरबदल हुँदै आएको छ। नयाँ संरचनाअनुसार अब प्रदेश सरकार ७ मन्त्रालयमार्फत सञ्चालन हुनेछ।
मन्त्रालय पुनर्संरचनापछि कुन मन्त्रीलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा मुख्यमन्त्री बानियाले दलहरूबीच छलफल गरिरहेको जनाइएको छ। जिम्मेवारी बाँडफाँटको निर्णय नभएसम्म ती ६ मन्त्री बिना विभागीयकै रूपमा रहनेछन्।
प्रतिक्रिया दिनुहोस