काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा नामिबियासँग ८ विकेटको पराजय व्यहोरेको नेपाली टोली आज पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा सुरु हुनेछ ।
पहिलो खेलमा ब्याटिङ र बलिङ दुवै विभागमा निराशाजनक प्रदर्शन गरेको नेपालका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ । शृंखलामा आफ्नो दाबेदारी र प्रतिस्पर्धात्मक अवस्था कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । यस त्रिकोणात्मक शृंखलाअन्तर्गत नेपालले जुलाई २७ मा पुनः नामिबियासँग र जुलाई २९ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका रहेको छ ।
हाल लिग–२ को अंकतालिकामा नेपाल २९ खेलबाट २४ अंक जोड्दै पाँचौँ स्थानमा छ। समान खेलबाट २४ अंक नै भए पनि रनरेटका आधारमा नामिबिया छैटौँ स्थानमा छ भने २८ खेलबाट ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ।
अंकतालिकाको शीर्ष स्थानमा ४३ अंकसहित अमेरिका र ३८ अंकसहित स्कटल्यान्ड दोस्रो स्थानमा रहेका छन् । त्यस्तै ओमान ३१ अंकसहित चौथो स्थानमा छ भने क्यानडा २४ अंकका साथ सातौँ र यूएई १४ अंकसहित पुछारमा रहेका छन् । चौथो स्थानमा रहेको ओमानलाई पछाडि पार्न नेपाललाई बाँकी रहेका खेलमध्ये कम्तीमा चार खेल जित्नुपर्ने ठूलो चुनौती रहेको छ ।
प्रतिक्रिया दिनुहोस