विराटनगर । लैङ्गिक हिंसा अन्त्यका लागि महिलाको आर्थिक सशक्तिकरणलाई प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । महिलालाई आर्थिक रूपमा सक्षम बनाउन सके लैङ्गिक हिंसा न्यूनीकरणसँगै रोजगारी र आत्मनिर्भरताको अवसर विस्तार गर्न सकिने उनीहरूको भनाइ छ ।
युनएफपीए र ओरेक नेपालले आयोजना गरेको ‘लैङ्गिक हिंसा अन्त्यका लागि महिलाको आर्थिक सशक्तिकरण: उत्कृष्ट अभ्यास तथा नीतिगत सुझाव’ विषयक कोशी प्रदेशस्तरीय छलफल कार्यक्रम विराटनगरमा सम्पन्न भएको हो ।
विराटनगर महानगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख राधिका कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा युनएफपीएका समिरराज घिमिरेले कार्यक्रमको उद्देश्य र प्रभावकारिताबारे जानकारी गराएका थिए ।

कार्यक्रममा आर्थिक सशक्तिकरण कार्यक्रमबाट प्राप्त सिकाइ तथा उत्तम अभ्याससम्बन्धी प्रदेशस्तरीय अनुभवका विषयमा अनुसन्धानकर्मी तथा प्रस्तोता डा. मेनुका कार्कीले प्रस्तुति दिएकी थिईन् ।
उनले महिलाको आर्थिक सशक्तिकरण र लैङ्गिक हिंसा न्यूनीकरणबीच प्रत्यक्ष सम्बन्ध रहेको बताईन् । उनका अनुसार रोजगारदाता र रोजगारी खोज्नेहरूबीच सूचना ग्याप रहेको भन्दै त्यसलाई हटाउन प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्नेछ । रोजगारका अवसर, सीप र बजारको मागबीच समन्वय हुन नसक्दा महिलाहरूले उपलब्ध अवसरबाट समेत लाभ लिन नसकेको उनको भनाइ थियो ।
आर्थिक सशक्तिकरणका कार्यक्रम सञ्चालनपछि स्थानीय सरकारको वित्तीय प्रतिबद्धतामा वृद्धि भएको, लैङ्गिक बजेट बढेको तथा महिलाहरूको आत्मविश्वासमा समेत उल्लेखनीय वृद्धि भएको कार्यक्रममा प्रस्तुत गरिएको थियो । यस्ता कार्यक्रमले महिलाको पारिवारिक तथा सामाजिक भूमिकाप्रतिको दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन ल्याएको कार्कीले बताईन् ।
कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसा सम्बोधन र रोजगारीका अवसरबीचको अन्तरसम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिईएको थियो । महिलालाई रोजगारी तथा आयआर्जनका अवसरमा जोड्न निजी क्षेत्र, स्थानीय सरकार र प्रदेश सरकारबीच त्रिपक्षीय सहकार्य आवश्यक रहेको कार्कीको भनाइ छ ।

कार्यक्रममा कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारीले कोशी प्रदेश सरकारले लैङ्गिक हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताईन् । उनले लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहसँग सहकार्य गर्दै बजेटसमेत पठाउने गरिएको जानकारी दिईन् ।
महिलाको आर्थिक निर्भरता घटाउँदै आत्मनिर्भर बनाउने कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले आर्थिक सशक्तिकरणलाई लैङ्गिक हिंसा अन्त्य गर्ने दीर्घकालीन उपायका रूपमा अघि बढाउनुपर्ने बताईन् ।
कार्यक्रममा प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, रोजगारदाता, महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्था तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । छलफलबाट प्राप्त सुझावका आधारमा लैङ्गिक हिंसा अन्त्यका लागि महिलाको आर्थिक सशक्तिकरणसम्बन्धी आगामी नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस