सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानका क्रममा पक्राउ परेर २४ दिन हिरासतमा बिताएका एमाले उपाध्यक्ष विष्णु पौडेल बिहीबार पहिलो पटक पार्टीको औपचारिक कार्यक्रममा सहभागी भए ।
अदालतले साधारण तारेखमा रिहा गरेलगत्तै उनी कार्की ब्यांक्वेटमा आयोजित एमालेको कार्यक्रममा पुगेका थिए। लामो समयपछि पार्टी कार्यक्रममा फर्किएका पौडेललाई नेता तथा कार्यकर्ताले ताली बजाएर स्वागत गरे, तर सबैको ध्यान खिच्ने दृश्य भने मञ्चमा देखियो । करिब दुई घण्टा एउटै मञ्चमा बसेका एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष पौडेलबीच एक पटक पनि संवाद भएन ।
कार्यक्रमस्थलमा प्रवेश गर्दा पौडेल सामान्यभन्दा निकै उत्साहित देखिन्थे । उद्घोषकले आसन ग्रहणका लागि आग्रह गरेपछि हलभरिका कार्यकर्ताले लामो समयसम्म ताली बजाएर उनको स्वागत गरेका थिए । मञ्चमा रहेका नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित विभिन्न दलका नेताले उनीसँग हात मिलाउँदै शुभकामना दिएका थिए। हिरासतबाट फर्किएका नेताप्रति पार्टी पंक्तिले आत्मीयता देखाएको स्पष्ट देखिन्थ्यो ।
तर, कार्यक्रम सुरु भएको झण्डै एक घण्टापछि अध्यक्ष ओली मञ्चमा आइपुगेपछि दृश्य केही फरक देखियो । त्यसबेला संविधानविद् राधेश्याम अधिकारी मन्तव्य राखिरहेका थिए। ओली मञ्चमा पुग्नेबित्तिकै उपस्थित सबै नेता उठेर स्वागत गर्न खडा भए । पौडेल पनि उठेर सम्मान जनाउन पुगे । तर त्यसपछि कार्यक्रम समाप्त नहुन्जेलसम्म दुई नेताबीच न हात मिल्यो, न सामान्य शिष्टाचारको संवाद नै भयो,एउटै मञ्चमा बसे पनि उनीहरूबीच कुनै प्रकारको कुराकानी वा कानाफुसीसमेत देखिएन ।
बरु अध्यक्ष ओली लामो समयसम्म मञ्चमै रहेका नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग कुराकानीमा व्यस्त देखिए । उनीहरूबीच पटकपटक संवाद भइरहँदा छेउमै बसेका पौडेलसँग भने ओलीले कुनै संवाद गरेनन्। कार्यक्रमस्थलमा उपस्थित केही नेता तथा कार्यकर्ताले यो दृश्यलाई अस्वाभाविक रूपमा हेरेका थिए ।
प्रतिशोधपूर्ण पक्राउपछि पहिलो पटक सार्वजनिक रूपमा भेट हुँदा कम्तीमा औपचारिक अभिवादन हुने अपेक्षा गरिएको भए पनि त्यस्तो हुन नसकेको उनीहरूको टिप्पणी थियो।
आफ्नो सम्बोधनका क्रममा ओलीले सरकारमाथि प्रतिशोधपूर्ण ढंगले आफ्ना नेताहरूलाई पक्राउ गरिएको आरोप दोहो¥याए । उनले आफू र पूर्वगृहमन्त्री रमेश लेखकमाथि गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिए ।
त्यही क्रममा पौडेलतर्फ संकेत गर्दै उनले भने, ‘हाम्रो पौडेलजी पनि पार्टीको कार्यक्रममा सहभागी भएको बेला पक्राउ गरेर रातभर हिडाएर काठमाडौ ल्याइयो । उनले भने उहाँ आफै आउने भन्नु भएको थियो तर देखाउनकै लागि गाढीमा राखेर ल्याइयो । त्यसबाहेक पौडेलको पक्राउ वा हिरासतबारे उनले विस्तृत टिप्पणी गरेनन् ।
कार्यक्रमभर पौडेल गम्भीर मुद्रामा बसेका देखिन्थे, कार्यक्रम सकिएपछि पनि ओली र नारायणकाजी श्रेष्ठ केहीबेर छलफलमा व्यस्त रहे । तर ओली र पौडेलबीच भने कुनै संवाद भएन । दुवैले एकअर्कालाई पूर्ण रूपमा बेवास्ता गरेको दृश्य त्यहाँ उपस्थित धेरैको नजरमा परेको थियो ।
हिरासतपछि एक पटक भेट, एक पटक फोन
एमाले स्रोतका अनुसार अदालतबाट साधारण तारेखमा रिहा भएपछि अध्यक्ष ओलीले पौडेललाई एक पटक टेलिफोन गरेका थिए । त्यसको भोलिपल्ट बुधबार साँझ पौडेल स्वयं ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका थिए ।
एमालेका एक केन्द्रीय सदस्यका अनुसार भेटमा हिरासत बसाइ र त्यससँग सम्बन्धित विषयमा केही समय कुराकानी भए पनि पार्टीको भावी रणनीति वा नेतृत्वसम्बन्धी विषयमा उल्लेखनीय छलफल भएको थिएन ।
नेतृत्व विवादपछि बढ्यो दूरी
एमालेभित्र ओली र पौडेल लामो समयसम्म निकट सहकर्मीका रूपमा चिनिन्थे । तर फागुन २१ को निर्वाचनमा पार्टीले अपेक्षाभन्दा कमजोर परिणाम बेहोरेपछि बसेको सचिवालय बैठकबाट उनीहरूको सम्बन्धमा चिसोपन सुरु भएको नेताहरू बताउँछन् ।
सचिवालय बैठकमा उपाध्यक्ष पौडेलले पार्टीलाई पुनः एकताबद्ध बनाउन नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा राखेका थिए । उनले अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने स्पष्ट अडान लिएपछि सचिवालयभित्र ओली पहिलो पटक अल्पमतमा परेका थिए । त्यसयता ओलीले विभिन्न पार्टी कार्यक्रममा अप्रत्यक्ष रूपमा महासचिव र पौडेलप्रति असन्तुष्टि झल्किने अभिव्यक्ति दिँदै आएका छन् ।
बिहीबारको कार्यक्रममा देखिएको दूरी पनि त्यही राजनीतिक पृष्ठभूमिको निरन्तरता हुन सक्ने एमालेभित्रकै नेताहरूको विश्लेषण छ ।
‘भित्र जे–जस्तो मतभेद भए पनि हिरासतपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा भेट हुँदा कार्यकर्तालाई सकारात्मक सन्देश जाने गरी कम्तीमा सामान्य आत्मीयता देखाउन सकिन्थ्यो ।’ कार्यक्रममा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘तर मञ्चमा देखिएको दृश्यले उल्टै दुई नेताबीचको दूरी अझै कम नभएको सन्देश दियो ।’
प्रतिक्रिया दिनुहोस