काठमाडौं / प्रदेश सरकारमा सत्ता सहकार्यको अन्तिम मोडालिटी तय गर्न नेकपा एमाले र नेकपाबीच उच्चस्तरीय छलफल जारी रहेको छ । सत्ता साझेदारीको ढाँचा, प्रदेशको नेतृत्व र जिम्मेवारी बाँडफाँटबारे दुई दलका शीर्ष नेताबीच निर्णायक वार्ता भइरहेको नेताहरूले बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार बिहानदेखि निरन्तर छलफल भइरहेको नेकपा वागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।
पौडेलले भने– ‘दुवै अध्यक्ष कमरेडहरू बिहानैदेखि छलफलमा हुनुहुन्छ,बेलुकीसम्म अन्तिम निर्णयमा पुग्ने अपेक्षा गरेका छौं ।’
उनका अनुसार दुवै पार्टीले सत्ता सहकार्यको सैद्धान्तिक आधारमा यसअघि नै सहमति गरिसकेकाले अब अन्तिम निर्णय शीर्ष तहबाटै हुने विश्वास गरिएको छ ।
‘हामीले दुई अध्यक्ष मात्रै बसेर अन्तिम निर्णय गर्नुस् भन्ने सुझाव दिएका छौं। दुवै पार्टीबीच सैद्धान्तिक सहमति भइसकेको अवस्थामा थप नेताहरूलाई सहभागी गराइरहन आवश्यक देखिँदैन,’ उनले भने ।
पौडेलका अनुसार ओली–प्रचण्डबीचको छलफल सकारात्मक ढंगले अघि बढिरहेको छ । प्रदेश सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँट र सत्ता सञ्चालनको मोडालिटीबारे आजै साझा निष्कर्षसहित औपचारिक सहमति सार्वजनिक हुने अपेक्षा गरिएको उनले बताए ।
सुरक्षाकर्मी छाडेर प्रचण्डसँग गोप्य भेटमा ओली
उच्च सुरक्षा स्रोतका अनुसार शनिबार बिहान अध्यक्ष ओली भक्तपुरको गुण्डुस्थित निवासबाट सरकारद्वारा उपलब्ध गराइएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई त्यहीँ छाडेर ललितपुर पुगेका हुन् । स्रोतका अनुसार उनीहरूबीच ललितपुरको एक गोप्य स्थानमा ‘वान–टु–वान’ छलफल जारी छ ।
स्रोतले दिएको जानकारीअनुसार बैठकको मुख्य एजेन्डा प्रदेश सरकारमा एमाले–नेकपाबीचको सत्ता सहकार्यलाई अन्तिम रूप दिने रहेको छ। छलफल सकारात्मक दिशामा अघि बढिरहेको र आवश्यक परे दोस्रो तहका नेताहरू पनि बैठकमा सहभागी हुन सक्ने स्रोतको दाबी छ ।
दुवै नेताबीच प्रदेश सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँट तथा सहकार्यको मोडालिटीबारे गम्भीर छलफल भइरहेको बताइएको छ। यद्यपि बैठकको स्थान र अन्य औपचारिक विवरण सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस