२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

गोविन्द केसीको स्वास्थ्य गम्भीर : सरकार वार्तासहित उपचार व्यवस्थापनमा सक्रिय

शनिवार , श्रावण ९, २०८३

काठमाडौं  / सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि सरकार उपचार व्यवस्थापन र वार्ता दुवै मोर्चामा सक्रिय भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले शनिबार सेती प्रादेशिक अस्पतालसँग प्रत्यक्ष समन्वय गर्दै डा. केसीको उपचार प्रभावकारी बनाउन निर्देशन दिएकी छन् भने उनका मागबारे छलफल गर्न सरकारी वार्ता टोली धनगढीतर्फ जाने तयारी गरिएको छ ।

मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग टेलिफोन संवाद गर्दै डा. केसीको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिएकी थिइन् । उनले उपचारमा कुनै कमी हुन नदिन, आवश्यक औषधि, विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था सुनिश्चित गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएकी छन् ।

बिहीबारदेखि पाँचबुँदे मागसहित अनशनमा बसेका डा. केसीको स्वास्थ्यमा लगातार गिरावट आएपछि उनलाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा सारिएको हो ।

 चिकित्सकका अनुसार लामो समयसम्म निराहार बसिरहेकाले शरीरमा पानीको मात्रा घट्ने, रक्तचाप असन्तुलित हुने, इलेक्ट्रोलाइट गडबडी तथा अन्य जटिलता देखिने जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख सल्लाहकार डा. मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग समन्वय गरी उपचारको अवस्था, चिकित्सकीय योजना र आवश्यक व्यवस्थापनबारे जानकारी लिएका छन्।

मन्त्रालयका अनुसार विशेषज्ञ चिकित्सकहरूको सुझावका आधारमा आवश्यक परे डा. केसीलाई थप सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने विकल्पसमेत खुला राखिएको छ ।

मन्त्रालयले डा. केसीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ । साथै, अनशन लम्बिँदै गए स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले चिकित्सकहरूले उपचारलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।

यसैबीच, डा. केसीका मागका विषयमा संवाद अघि बढाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सम्मिलित सरकारी वार्ता टोली शनिबार नै धनगढी पुग्ने तयारीमा रहेको मन्त्रालयले जनाएको छ । वार्तामार्फत मागहरूको सम्बोधनका सम्भावनाबारे छलफल गरिने बताइएको छ।

डा. केसी विगत एक दशकभन्दा बढी समयदेखि चिकित्सा शिक्षा सुधार, सरकारी अस्पतालको सुदृढीकरण, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार, मेडिकल शिक्षामा पारदर्शिता तथा यसअघि भएका सम्झौताको कार्यान्वयनलगायतका विषय उठाउँदै पटक–पटक अनशन बस्दै आएका छन्। उनका धेरै मागमा सरकारले विगतमा सम्झौता गरे पनि पूर्ण कार्यान्वयन नभएको भन्दै उनी पुनः सत्याग्रहमा बसेका हुन्।

सरकार र डा. केसी पक्षबीच हुने वार्ताले सत्याग्रहको निकास खोज्ने अपेक्षा गरिए पनि हालसम्म कुनै ठोस सहमति भएको जानकारी सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट