काठमाडौं । प्रदेश सरकार गठनका लागि नेकपा एमाले र नेकपाबीच सातै प्रदेशको नेतृत्व बाँडफाँटबारे तीनबुँदे सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच भएको छलफलपछि प्रदेश सरकारको नेतृत्वबारे सहमति जुटेको हो।
दुई दलबीच भएको समझदारीअनुसार बागमती, कोशी र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व नेकपा एमालेले गर्नेछ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ।
मधेश र गण्डकी प्रदेशको नेतृत्व भने प्रदेशसभामा रहेका अन्य राजनीतिक दलहरूसँगको छलफल र शक्ति सन्तुलनका आधारमा टुंगो लगाइने सहमति भएको छ।
दुई दलले जारी गरेको साझा सहमति पत्रमा राजनीतिक स्थिरता, सुशासन, विकास निर्माण र जनअपेक्षाअनुसार प्रभावकारी शासन सञ्चालनका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रदेश सरकार गठन, नेतृत्व चयन तथा आवश्यक शक्ति साझेदारीका विषयमा आपसी समन्वयलाई निरन्तरता दिने र सहमतिअनुसार प्रक्रिया अघि बढाउने विषय पनि तीनबुँदे समझदारीमा समेटिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस