काठमाडौं । नेपालकै ठूलो एकीकृत सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको सञ्चालन आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । सिमेन्टको बिक्री मूल्यमा भएको सुधार, बजार मागमा आएको क्रमिक वृद्धि तथा ठूलो उत्पादन क्षमताका कारण कम्पनीको व्यापार पछिल्लो समय पुनः लयमा फर्किएको हो ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै कम्पनीले १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरिसकेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशत बढी हो ।
रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदनअनुसार, कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को १० अर्ब ९६ करोड ७० लाख रुपैयाँको तुलनामा करिब २१ प्रतिशत बढी हो ।
विगतका वर्षमा भने कम्पनीको व्यापारमा उतारचढाव देखिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब २० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको व्यापार त्यसपछिका दुई वर्षमा घटेको थियो । तर, पछिल्लो डेढ वर्षयता आम्दानीमा देखिएको सुधारले कम्पनीको कारोबार पुनः सकारात्मक दिशामा फर्किएको देखाएको छ ।
कम्पनीको आम्दानी बढ्नुमा सिमेन्टको बिक्री मूल्यमा भएको वृद्धि र ठूलो उत्पादन क्षमता प्रमुख कारण रहेको इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ । नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा रहेको यस उद्योगको वार्षिक सिमेन्ट उत्पादन क्षमता २३ लाख मेट्रिक टन र क्लिंकर उत्पादन क्षमता २० लाख मेट्रिक टन छ ।
बजारमा सिमेन्टको मागमा आएको क्रमिक सुधार तथा प्रतिस्पर्धी मूल्य निर्धारण गर्ने कम्पनीको क्षमताले समेत आम्दानी बढाउन सहयोग गरेको जनाइएको छ । कम्पनीले ‘होङ्सी’ ब्रान्डअन्तर्गत ओपीसी र पीपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।
आम्दानीसँगै कम्पनीको नाफादर र वित्तीय अवस्था पनि सुधारिएको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीको सञ्चालन नाफा दर (ओपीएम) ३१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर २४ प्रतिशत थियो ।
त्यस्तै, कम्पनीले दीर्घकालीन कर्जा चुक्ता गरेसँगै ऋण सेवा कभरेज अनुपात (डीएससीआर) मा पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो वर्ष ०.७५ गुणा रहेको डीएससीआर बढेर १९ गुणा पुगेको छ । कम्पनीको कुल ऋण र नेटवर्थको अनुपात (गियरिङ) ०.१५ गुणामा सीमित छ । यसले कम्पनीको ऋण भार न्यून रहेको देखाउँछ ।
यही सुधारका आधारमा इक्रा नेपालले कम्पनीको ६ अर्ब रुपैयाँ बराबरको छोटो अवधिको कर्जा सुविधाका लागि दिएको [ICRANP] A2+ रेटिङलाई पुनः पुष्टि गरेको छ । कम्पनीको बलियो सञ्चालन क्षमता, सुधारिँदो नाफादर र सुदृढ वित्तीय अवस्थालाई आधार मानेर रेटिङलाई निरन्तरता दिइएको हो ।
कम्पनीमा चीनको होङ्सी ग्रुपअन्तर्गतको हङकङ रेड लायन सिमेन्ट नम्बर ३ लिमिटेडको ७० प्रतिशत र नेपालको शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्सको ३० प्रतिशत स्वामित्व रहेको छ । प्रवर्द्धकहरूको लामो अनुभव र स्थापित ब्रान्ड छविले कम्पनीलाई बजारमा आफ्नो पकड कायम राख्न सहयोग गरेको इक्रा नेपालको मूल्यांकन छ ।
तर, कम्पनीको आम्दानीमा ग्राहक एकाग्रताको जोखिम भने उच्च रहेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीको कुल क्लिंकर बिक्रीको शतप्रतिशत र सिमेन्ट बिक्रीको ३५ प्रतिशत हिस्सा शीर्ष १० ग्राहकमा मात्र निर्भर रहेको छ । यसले बजारमा माग घटेमा कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पर्न सक्ने जोखिम देखाउँछ ।
यसैगरी, नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गर्न ढिलाइ हुँदा कम्पनीको करिब १ अर्ब ५० करोड रुपैयाँ लाभांश भुक्तानी हुन बाँकी रहेको छ । यद्यपि, कम्पनीसँग ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको नगद मौज्दात रहेकाले तत्कालको तरलता जोखिम न्यूनीकरण गर्न सहयोग प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस