धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले नेपाल सरकारसँग ७ बुँदे सहमति भएपछि चार दिनदेखि धनगढीमा जारी आफ्नो २४औँ सत्याग्रह (अनशन) अन्त्य गरेका छन्।
शनिबार धनगढी पुगेको सरकारी वार्ता टोलीसँग लामो छलफलपछि सहमति जुटेपछि डा. केसीले सेती प्रादेशिक अस्पतालमा उपचाररत ८ वर्षीय सुदिप कोइरालाका भिनाजु, गौमुल गाउँपालिका–२ का चक्रबहादुर धामीको हातबाट जुस पिएर अनशन तोडे।
शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको नेतृत्वमा भएको वार्तामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसाल सहभागी थिए। सहमतिपत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा कम्तीमा ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन गरी एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम तत्काल अघि बढाइनेछ। अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण र पूर्वाधारको व्यवस्था विश्वविद्यालयले मिलाउने तथा शिक्षा र स्वास्थ्य मन्त्रालयले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाइएको छ।

त्यस्तै, विश्वविद्यालयका पदाधिकारीको योग्यता, नियुक्ति र सञ्चालनसँग सम्बन्धित विषय समेट्दै विश्वविद्यालय ऐन संशोधनको प्रक्रिया संघीय संसद्को चालु अधिवेशनभित्रै अघि बढाउने सहमति भएको छ।
चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा प्रचलित मापदण्डअनुसार मात्रै विद्यार्थी सिट निर्धारण गर्ने, निजी मेडिकल कलेजमा सिट नबढाउने र सार्वजनिक शिक्षण संस्थामा आवश्यकताअनुसार मात्रै सिट विस्तार गर्ने व्यवस्था लागू गरिने उल्लेख गरिएको छ। छात्रवृत्तिसम्बन्धी विद्यमान प्रावधानलाई पनि यथावत् राखिने सहमतिमा उल्लेख छ।
यसबाहेक चिकित्सा शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाका रूपमा सञ्चालन गर्ने कानुनी व्यवस्थाको कार्यान्वयनबारे अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरिने र उक्त कार्यदलले छ महिनाभित्र प्रतिवेदन पेश गर्ने सहमति भएको छ।
सहमतिसँगै सरकार र डा. केसीबीच विगतमा भएका सहमति कार्यान्वयनलाई पनि प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। यससँगै गेटामा एमबिबिएस अध्ययन सुरु गर्ने प्रक्रिया अघि बढ्ने अपेक्षा स्थानीयले गरेका छन।


प्रतिक्रिया दिनुहोस