२०८३, श्रावण १२ गते

मंगलवार, श्रावण १२ गते २०८३

पहिरो–ढुंगाको उच्च जोखिममा पुलु, कर्मचारीको माग : सुरक्षित स्थानबाट गाउँपालिका सञ्चालन गरियोस्

सोमवार , श्रावण ११, २०८३

मुगु । तल कर्णालीको उल्का भेल माथि कालापथ्थर जस्तै कडा चट्टानका बिचमा छ पुलु बजार, मुगुम कार्मारोङ गाउँपालिकाको पालिका केन्द्र पुलु बजार पहिरो र ढुंगाको जोखिमले असुरक्षित छ ।

मुगुम कार्मारोङ गाउँपालिका– ५ मा पर्ने पालिका केन्द्र पुलुमा हरेक वर्ष वर्षायामसँगै माथिबाट झर्ने विशाल ढुंगा र पहिरोले स्थानीय बासिन्दा, सरकारी कार्यालय तथा कर्मचारीहरूलाई त्रसित बनाइरहेको छ ।

पछिल्लो पटक साउन ८ गते राति भएको भीषण पहिरोसँगै ढुंगा खस्ने घटनापछि गाउँपालिकाका कर्मचारीहरूले अब जोखिम मोलेर नियमित सेवा प्रवाह गर्न नसकिने निष्कर्ष सहित गाउँपालिका अध्यक्ष समक्ष सुरक्षित स्थानबाट कार्यालय सञ्चालनको माग गर्दै संयुक्त निवेदन दिएका मुगुम कार्मारोङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शुवास चन्द्र रावलले जानकारी दिए ।

उनका अनुसार कर्मचारीहरूले दिएको निवेदन केवल कार्यालय सार्ने माग मात्र होइन, पुलु क्षेत्रमा वर्षौंदेखि आएको विपद्को जोखिम, सरकारी संरचनाको असुरक्षा र स्थानीयको पीडाको दस्तावेज पनि हो । यस्तो जोखिम स्थान पुलुमा कार्यालय सञ्चालन गर्नु भनेको हरेक दिन मृत्युको जोखिमसँग सम्झौता गर्नु सरह भएको अधिकृत रावलको भनाई छ ।

गाउँपालिका स्थापना भएपछि २०७६ माघ ३ गते गाउँपालिकाले भाडामा प्रयोग गरिरहेको भवनमा ठूलो ढुंगा खस्दा भवनमा क्षति पुग्नुका साथै दराज, टेबल, कुर्सी लगायतका फर्निचर नष्ट भएका थिए। त्यसको एक वर्षपछि गाउँपालिका परिसरमै फेरि ढुंगाका खस्दा क्यान्टिनमा क्षति पुगेको थियो ।

२०७९ सालमा जोखिम अझ गम्भीर बन्दै गयो । राष्ट्रिय वाणिज्य बैंक पुलु शाखाले भाडामा प्रयोग गरिरहेको भवनमाथि करिब दुई सातासम्म निरन्तर ढुंगाका खस्दा सोलार प्यानल र छानामा क्षति पुग्यो । अवस्था असुरक्षित भएपछि बैंकले आफ्नो ढुकुटीसमेत गाउँपालिका भवनमा सारेर सेवा सञ्चालन गर्नुपरेको राष्ट्रिय वाणिज्य बैंक पुलु शाखाका प्रवन्धक जय बहादुर मल्लले बताए ।

त्यही अवधिमा प्रहरी चौकी डोल्फु हालको पुलु भवनमा पनि ढुंगा खसेर छाना प्वाल परेको, कोठाभित्र रहेको फर्निचर तथा सिरानी छेउमा राखिएको मोबाइल फोनसमेत नष्ट भएको विवरण निवेदनमा समेटिएको छ । विपद्को असर सरकारी कार्यालयमा मात्र सीमित छैन । गाउँपालिका केन्द्र वरपरका कम्तीमा १९ वटा घर ढुंगा र पहिरोका कारण प्रयोगविहीन अवस्थामा पुगेका छन् ।

ती घर संरक्षणको अभावमा जुनसुकै बेला पूर्ण रूपमा भत्किन सक्ने जोखिममा रहेको कर्मचारीहरूले उल्लेख गरेका छन् । २०७९ सालमै पहिरोले क्षति पुर्याएपछि नागरिक आरोग्य सेवा केन्द्रसमेत अर्को स्थानमा सार्नुपरेको थियो ।

पछिल्लो समय २०८३ असार २३ गते गाउँपालिका कार्यालय परिसरमै ठूलो ढुंगा खस्दा कार्यालय अगाडि राखिएको फलामे सूचना बोर्ड पूर्ण रूपमा नष्ट भयो । त्यसको दुई सातापछि, साउन ८ गते राति २ः५५ बजे आएको विनाशकारी ढुंगाले पुलुलाई फेरि शोकमा डुबायो ।

उक्त घटनामा एक जनाको मृत्यु भयो भने तीन जना घाइते भए। दुई घर पूर्ण रूपमा ध्वस्त भए भने पाँच घर बस्नै नमिल्ने गरी क्षति पुगे। ती घरमा व्यवसाय गर्दै आएका चार परिवारले लाखौँ रुपैयाँ बराबरको आर्थिक क्षति बेहोर्नुपरेको छ ।

त्यही घटनामा गाउँपालिकाले गोदामका रूपमा प्रयोग गर्दै आएको स्थानीयको घरमा राखिएका विभिन्न आर्थिक वर्षका सरकारी अभिलेख, जिन्सी सामग्री, स्वास्थ्य सामग्री, उपकरण तथा औषधि पूर्ण रूपमा नष्ट भए । सरकारी सम्पत्तिसँगै महत्वपूर्ण प्रशासनिक अभिलेखसमेत गुमेपछि कर्मचारीहरूले अहिले सरकारी कागजात सुरक्षित राख्नसमेत समस्या झेलिरहेको गाउँपालिकाकाले जनाएको छ ।

साउन ८ को घटनापछि पनि अवस्था सामान्य छैन अहिले पनि गाउँपालिका केन्द्र वरपर दैनिकजसो ढुंगा खस्ने क्रम अझै जारी छ । जनप्रतिनिधि र कर्मचारीहरूले आफूहरू बस्दै आएको डेरा छाडेर स्वास्थ्य चौकी पुलु तथा अन्य सुरक्षित घरमा रात बिताउन बाध्य भएको उल्लेख गर्दै कर्णाली नदीको बहावसमेत बढेकाले ती स्थानहरू पनि दीर्घकालीन रूपमा सुरक्षित नरहेको कर्मचारीहरुले बताएका छन् ।

कर्मचारीहरूको भनाइमा यस्तो परिस्थितिमा सरकारले तोकेको बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नियमित रूपमा कार्यालयमा बसेर सेवा दिन सम्भव छैन । 

उनीहरूका अनुसार कार्यालय पुग्ने र त्यहाँ बस्ने प्रत्येक क्षण जोखिमपूर्ण छ । कुनै पनि बेला माथिबाट ढुंगा खस्न सक्ने त्रासबीच सेवा प्रवाह गर्नु कर्मचारी र सेवाग्राही दुवैका लागि ज्यानको जोखिम भएको उनीहरूको तर्क छ ।

साथै, स्थानीय तहको कार्यक्षेत्र विस्तारसँगै उद्योग, उपभोक्ता हित, भूमि प्रशासन लगायतका नयाँ जिम्मेवारी थपिँदै गएका बेला नयाँ सरकारी संरचना निर्माण गर्न पर्याप्त र दर्तावाला जग्गासमेत उपलब्ध नभएको समस्या पनि औँल्याइएको छ ।हाल रहेको प्रशासकीय भवन साँघुरो र उच्च जोखिममा रहेको भन्दै कर्मचारीहरूले कार्यालय सञ्चालनका लागि आवश्यक कार्यकक्षको अभाव रहेको उल्लेख गरेका छन् ।

सरकारी जिन्सी सामग्री र अभिलेखसमेत विभिन्न भाडाका असुरक्षित घरमा राख्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।कर्मचारीहरूले सेवा प्रवाहबाट पछि नहट्ने प्रतिबद्धता पनि जनाएका छन् । 

विपद्पछिको व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा, अनलाइन माध्यमबाट उपलब्ध गराउन सकिने सेवा तथा अनुकूल समय र सुरक्षित वातावरणमा कार्यालय सञ्चालन गर्न आफूहरू सधैँ तयार रहेको उनीहरूले निवेदनमा उल्लेख गरेका छन् । तर जोखिमका कारण नियमित कार्यालय समयअनुसार सेवा दिन नसकिएको अवस्थाप्रति सेवाग्राहीसँग क्षमायाचनासमेत गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत शुवासचन्द्र रावलले कर्मचारीहरू सेवा प्रवाहबाट पछि नहटेको तर ज्यानको जोखिम मोलेर नियमित कार्यालय सञ्चालन गर्न कठिन भएको बताए । ‘हामीले सेवा रोक्न खोजेका होइनौ’, उनले भने, ‘सेवाग्राहीलाई सकेसम्म सहज रूपमा सेवा दिने प्रयास जारी छ, तर कार्यालय परिसर र बसोबास दुवै असुरक्षित भएपछि कर्मचारीको ज्यान जोगाउनु पनि राज्यको दायित्व हो ।

757908646_1035288839298660_2395823021155955796_n.jpg

756219523_1823226765312712_4685767114495511701_n.jpg

755666817_2886865631676134_1873097759454376441_n.jpg

758895563_27063825909958051_4535757666677426502_n.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट