काठमाडौं । भारत सरकारको करिब ७ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोगमा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्य सुरु भएको छ।
विद्यालय भवनको शिलान्यास काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामीले संयुक्त रूपमा गरेका हुन्।
भारतीय राजदूतावासका अनुसार विद्यालय भवन भारत सरकारको सहयोगमा सञ्चालन हुने उच्च प्रभाव सामुदायिक विकास आयोजना अन्तर्गत निर्माण हुन लागेको हो।

भवन निर्माणका लागि करिब ७ करोड ५० लाख रुपैयाँ खर्च हुने जनाइएको छ। आयोजना शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन हुनेछ।
यो दार्चुला जिल्लामा सञ्चालन भइरहेको ११औँ उच्च प्रभाव सामुदायिक विकास आयोजना हो।
शिलान्यास कार्यक्रममा नगर प्रमुख धामीसहित स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि सुरक्षित, आधुनिक र गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

भारतीय राजदूतावासले नेपाल र भारतबीचको घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई उल्लेख गर्दै यस्ता विकास आयोजनामार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत प्राथमिकताका क्षेत्रमा सहयोग निरन्तर जारी रहेको जनाएको छ। साथै, यस्ता आयोजनाले नेपालको विकास र समृद्धिको अभियानलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस