२०८३, श्रावण १२ गते

मंगलवार, श्रावण १२ गते २०८३

अस्पतालहरुले सेवा बन्द गरि रहे कारबाही गर्ने सरकारको चेतावनी

मंगलवार , श्रावण १२, २०८३

काठमाडौँ  । सरकारले देशभरका अस्पतालहरूलाई कुनै पनि बहानामा स्वास्थ्य सेवा बन्द नगर्न कडा निर्देशन दिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उपचार सेवा अवरुद्ध गर्ने अस्पताल र जिम्मेवार व्यक्तिहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।


वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि मन्त्रालयले यस्तो भनेकाे हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य सेवालाई ‘अत्यावश्यक, जीवनरक्षक र संवेदनशील’ सेवाको रूपमा रहेकाले बन्द गर्न नमिल्ने बताए ।

"नागरिकको स्वास्थ्य उपचारमा अवरोध पुर्‍याउनु कानुनी र मानवीय हिसाबले समेत दण्डनीय छ," उनले भने, "कुनै पनि अवस्थामा सेवा बन्द नगर्न र नियमित प्रवाह गर्न सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको छ ।"

मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलनका नाममा बिरामीको उपचार पाउने मौलिक हक हनन नगर्न सचेत गराएको छ ।

स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै दोषीलाई कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।

यता, नेपाल चिकित्सक संघले भने साउन ९ गते नारायणी अस्पतालमा भएको घटना र त्यसपछि जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका क्रममा प्रहरी प्रमुखबाट भएको दुर्व्यवहारको विरोधमा मंगलबार देशभरका अस्पताल बन्द गरेको छ ।

संघले दोषीलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ बमोजिम कारबाही गर्न र पर्साका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखलाई समेत दण्डित गर्न माग गरेको छ ।

तर, मन्त्रालयले भने स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानजनक वातावरणमा काम गर्न पाउने अधिकारप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै उपचार सेवा ठप्प पारेर नागरिकलाई सास्ती दिने कार्य सह्य नहुने स्पष्ट पारेको छ । मन्त्रालयले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा हड्ताल वा अवरोध गरेमा प्रचलित कानुन अनुसार कडा कारबाही हुने संकेत गरेको छ ।

अधिकारीले भने, "स्वास्थ्यकर्मीमाथि हुने हिंसाको मन्त्रालय निन्दा गर्दछ र दोषीलाई कारबाही गर्न कटिबद्ध छ, तर यसैलाई आधार बनाएर स्वास्थ्य सेवा रोक्नु न्यायसंगत हुँदैन ।"

चिकित्सक संघले बुधबार सर्वपक्षीय भेला गरी थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहँदा सरकारले भने सेवा सुचारु नगरे कठोर बन्ने चेतावनी दिएको हो । यसले गर्दा सरकार र चिकित्सकहरूबीचको टकराव अझ बढ्ने देखिएको छ, जसको प्रत्यक्ष मारमा सर्वसाधारण बिरामी परिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट