काठमाडौं । सरकारले नेप्सेमा नयाँ सीईओ खाेज्दैछ । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्न आवेदन आह्वान गरेको छ। सीईओ छनोटका लागि गठित सिफारिस समितिले मंगलबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो।
समितिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन दर्ता गराउन आग्रह गरेको छ।
सूचनाअनुसार अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको योग्यता हासिल गरेको हुनुपर्नेछ। साथै पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्षको कार्यअनुभव र त्यसमध्ये कम्तीमा ७ वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव अनिवार्य गरिएको छ।
आवेदक नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ को दफा २.२ र २.३ बमोजिम अयोग्य नभएको हुनुपर्नेछ। साथै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (संशोधनसहित) अनुसार कम्तीमा ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको तथा तोकिएका अन्य अयोग्यता नलागेको हुनुपर्ने व्यवस्था गरिएको छ।
आवेदनसँगै उम्मेदवारले नेप्सेको प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ को दफा ४ बमोजिम तयार गरिएको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) तीन प्रति खामबन्दी गरी पेश गर्नुपर्नेछ। खामको बाहिरी भागमा आवेदकको नामसहित नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना उल्लेख गरी हस्ताक्षर गरिएको हुनुपर्नेछ। आवेदन दस्तुर रु. ५ हजार तोकिएको छ।
सिफारिस समितिले प्राप्त आवेदनहरूको अध्ययन, योग्यता मूल्यांकन तथा अन्तर्वार्तापछि योग्य उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्दै नेप्सेको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।
नेपालको धितोपत्र बजार सञ्चालन गर्ने प्रमुख संस्था नेप्सेको नेतृत्व परिवर्तनको प्रक्रिया सुरु भएसँगै नयाँ सीईओको नियुक्तिलाई लगानीकर्ता, ब्रोकर, सूचीकृत कम्पनी तथा समग्र वित्तीय क्षेत्रले चासोका साथ हेरिरहेका छन्। नयाँ नेतृत्वले बजारको आधुनिकीकरण, प्रविधि सुधार, नयाँ वित्तीय उपकरणको विकास तथा लगानीकर्ताको विश्वास अभिवृद्धिमा कस्तो भूमिका खेल्छ भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण रहनेछ।
प्रतिक्रिया दिनुहोस