२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

बिहिवार , आषाढ १२, २०८२

काठमाडौँ । श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण सङ्कलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ ।

परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट आज शुभारम्भ गरेका हुन् । उक्त एपमा विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत् कहाँ, कुन अवस्थामा र कति सङ्ख्यामा नेपाली रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवम् श्रम मन्त्रालयलाई गर्न सहज हुनेछ ।

यो विवरण प्राप्त भएपछि नेपाली नागरिक रहेका देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाको तत्कालै उद्धार गर्नसमेत सहज हुनेछ ।

परराष्ट्र मन्त्री डा राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपाली सूचना कै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासा मन्त्रालयमा आउने गरेकाले अब यो एप सञ्चालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उनीहरुलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताइन् ।

साथै श्रम स्वीकृति बेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकालाई पनि सम्बद्ध देशको नेपाली दूताबासबाटै श्रम स्वीकृति दिनेगरी ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने निर्णय भएकाले उनीहरुलाई सहज हुने मन्त्री डा राणाले बताइन् ।

उनले भनिन्, “विशेषगरी श्रम स्वीकृति बिना नै विभिन्न देशमा पुगेका र हाल त्यहाँ काम गरिरहेकाका लागि उहाँहरुको संरक्षण, सुरक्षाका लागि यो ‘वैधानिकीकरण श्रम स्वीकृति’को व्यवस्था सम्बन्धित दूताबासबाटै दिनेगरी व्यवस्था मिलाइएको हो । यसको अर्थ अवैध रूपमा जानेलाई प्रोत्साहन गरेको भने होइन ।”

मन्त्री डा राणाले मन्त्रालयले नेपाली डायस्पोराका समस्याको समाधानका लागि यसअघि पनि एक कार्यदल गठन गरी काम सुरु गरिएको जानकारी दिँदै पछिल्लो समयमा विशेष गरी श्रम गन्तव्यमा रहेका नेपालीका समस्या धेरै आउन थालेकाले उहाँहरुको अवस्था र समस्या बुझ्नका लागि यो एप सञ्चालनमा ल्याइएको जानकारी दिइन् ।

श्रममन्त्री भण्डारीले आज सञ्चालनमा ल्याइएको एप र वैधानिकीकरण श्रम स्वीकृतिको यस व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठूलो राहात प्रदान गर्ने बताए । नेपाली को कहाँ र कति छन् भन्ने जानकारी मात्र नभएर कागजबिहीन भएर बसेका, सम्बन्धित श्रम गन्तव्यमा जाँदा श्रम स्वीकृति नलिएका तथा अन्य विविध कारणले समस्यामा परेर आफूले पाउने आधारभूत सेवा सुविधाबाट पनि बञ्चित भएका नेपाली श्रमिकलाई यसले ठूलो सहायता प्रदान गर्ने उनको भनाइ थियो ।

परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको उक्त एज्ञपलाई सम्बद्ध देशका नेपाली राजदूताबासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको छ । सो एपमा ती देशमा रहेका नेपालीले आफ्नो विवरण भने भर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट