काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले आजदेखी लागु हुनेगरी लोडसेडिङको तालिका सार्वजनिक गरेको हो। तालिका सार्वजनिक भएसँगै लोडसेडिङको सुरु भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो । अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ ।
उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।
केन्द्रले विद्युत् माग अत्यधिक बढेका कारण नियन्त्रित लोड व्यवस्थापन गर्नुपर्ने अवस्था आएको भन्दै सूचनामार्फत ३९३ घण्टाको गरि कुल ६ घण्टा विद्युत् कटौती हुने जानकारी दिएको छ ।
जस अनुसार माडी फिडरमा बिहान ६ बजेदेखि ९ बजेसम्म, दिउसो ३ बजेदेखि ६ बजेसम्म विद्युत जाने छ । त्यस्तै मेघौली विजयनगर फिडर क्षेत्रमा बिहान ९ बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि राति ९ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ । त्यसैगरी जगतपुर रामपुर फिडर क्षेत्रमा दिउसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ९ बजेदेखि १२ बजेसम्म विद्युत बन्द हुने भएको छ ।
हाल माडी क्षेत्रमा गर्मी अत्यधिक रहेको र रोपाइँको समय भए तापनि वर्षा नहुँदा सिँचाइका लागि बिजुलीको प्रयोग बढेर कुल माग ४५० एम्पियरसम्म पुगेकोले लोड व्यवस्थापन गर्न असहज भइरहेको प्राधिकरणले जनाएको छ । यस्तो अवस्थाको दीर्घकालीन समाधानका लागि अघिल्लो आर्थिक वर्षमै बसेनी सबस्टेशनमार्फत वैकल्पिक ३३ के.भी. प्रसारण लाइन निर्माण सुरु गरिसकिएको छ, जुन निर्माणाधीन अवस्थामा छ ।
प्राधिकरणले ग्राहकवर्गलाई परिरहेको असुविधाप्रति क्षमा प्रकट गर्दै, लोड व्यवस्थापनक्रममा उल्लेखित समयभन्दा अगावै लाइन सुचारु हुने सम्भावना पनि रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस