काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेश कुमार कपुरले नियुक्त भएको छोटो समयमै पदबाट राजीनामा दिएका छन्।
कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समेत रहेका कपुरलाई एक साताअघि (असार २ गते) कायममुकायम सीईओको जिम्मेवारी दिइएको थियो। तर, उनले असार ८ गते आफ्नो नायब प्रमुख कार्यकारी अधिकृत तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृत दुवै पदबाट राजीनामा बुझाएको कम्पनी स्राेतले बताएकाे छ।
कम्पनी सीईओ उपासना पौडेलविरुद्ध सम्पत्ती शुद्धीकरणसँगै थप दुई मुद्दा परेपछि कपुरले गत असार दुई गतेबाट लागू हुनेगरी कामु सीईओको जिम्मेवारी पाएका थिए ।
तर, छोटो समयमै उनले पदबाट अलग हुने निर्णय गरेपछि कम्पनीको उच्च व्यवस्थापन संरचनाबारे पुनः छलफल शुरु भएको छ।
सीईओ उपासना पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएपछि कम्पनीले अस्थायी व्यवस्थापनका रूपमा कपुरलाई कामु सीईओको जिम्मेवारी सुम्पिएको र उनकाे राजीनामा पछि कम्पनीमा हलचल सिर्जना भएकाे छ ।
संवेदनशील अवस्थामै नेतृत्व सम्हालेका उनी केही दिनमै जिम्मेवारीबाट बाहिरिनुलाई अर्थपुर्ण हिसाबले हेरिएकाे छ ।
कपुरले किन राजीनामा दिए भन्ने विषयमा कम्पनीले स्पष्ट कारण खुलाएको छैन।
तर, हालको परिस्थितिलाई मध्यनजर गर्दै संस्थागत स्थायित्व, नेतृत्व निरन्तरता र वैकल्पिक व्यवस्थापनबारे आन्तरिक तहमा छलफल भइरहेको र आगामी दिनमा नयाँ नेतृत्व सम्बन्धी निर्णय औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी भइरहेकाे कम्पनिका एक उच्च अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस