काठमाडाै । स्वास्थ्य बीमा बोर्डले देशभरका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा आँखा अस्पतालहरूलाई २३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ।
बोर्डले असार ८ गतेको निर्णयअनुसार कुल २३ अर्ब ३३ करोड ६४ लाख ५४ हजार ४१९ रुपैयाँ ३५ पैसा बराबरको दाबी रकम तथा पेश्की फर्छ्यौट गरेको जनाएको छ। अर्थ मन्त्रालयबाट असार ४ गते निकासा भएको बजेटका आधारमा सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा रकम पठाइएको बोर्डका लेखा उपसचिव पुष्पप्रसाद गुरागाईंले जानकारी दिए।
बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को गरी कुल २७ अर्ब ८१ करोड ७० लाखभन्दा बढी दाबी रकम रुजु गरिएको थियो। त्यसमध्ये अघिल्लो वर्ष स्वास्थ्य संस्थाहरूलाई दिइएको ४ अर्ब ३६ करोड ६९ लाखभन्दा बढी पेश्की रकम खर्चमा समायोजन गरी फर्छ्यौट गरिएको हो।
भुक्तानी गर्दा स्वीकृत रकमको २ प्रतिशत कट्टा गरी बाँकी रकम सम्बन्धित संस्थाहरूलाई पठाइएको बोर्डले जानकारी दिएकाे छ।
भुक्तानी प्राप्त गर्ने प्रमुख संस्थामध्ये भरतपुर अस्पतालले सबैभन्दा बढी ७ करोड ११ लाख रुपैयाँ प्राप्त गरेको छ। त्यसपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले ५ करोड ४७ लाख, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले ५ करोड ३ लाख र बाकुलहर रत्ननगर अस्पताल चितवनले ४ करोड ९७ लाख रुपैयाँ प्राप्त गरेका छन्।
त्यस्तै वीर अस्पतालले ४ करोड ४८ लाख, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले ४ करोड २१ लाख, त्रिवि शिक्षण अस्पतालले ४ करोड ४ लाख, दमक अस्पतालले ३ करोड ९६ लाख, कोशी अस्पतालले ३ करोड ३४ लाख र भेरी अस्पतालले २ करोड २ लाख रुपैयाँ भुक्तानी पाएका छन्।
यससँगै गत आर्थिक वर्ष २०८१/८२ का सबै स्वीकृत दाबी तथा चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिर मसान्तसम्मका स्वीकृत दाबी रकमको भुक्तानी सम्पन्न भएको बोर्डले स्पष्ट पारेको छ। मंसिर मसान्त यताकाे बक्याैँता भने अझै पुरा हुन सकेकाे छैन् । मन्त्रालयबाट थप निकाशा भएपछि भुक्तानी गरिने बाेर्डले जानकारी दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस